चितवन ६ असार ।
उपराष्ट्रपति नन्दबहादुर पुनले प्राथमिक तहदेखि विश्वविद्यालयसम्म योग शिक्षालाई पाठ्यक्रममा राख्नु पर्ने बताउनु भएको छ ।
योग दिवसको अवसरमा आज चितवनको भरतपुरमा आयोजना गरिएको वृहत योग शिविरको उद्घाटन गर्दै उहाले योगले स्वास्थ्यमा सकरात्मक प्रभाव पार्ने भएकाले यसलाई पाठ्यक्रममा नै राख्नको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु भयो । उहाले भन्नु भयो ‘योगलाई पाठ्यक्रममा राख्ने यसअघि शुरु गरिएको प्रयासलाई सार्थकता दिन म सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’

कार्यक्रममा उहाले योग शिक्षालाई अझै प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्नु भयो । नागरिक शारीरिक र मानसिक रुपमा स्वस्थ भए मात्रै देश स्वस्थ हुने भन्दै उपराष्ट्रपति पुनले भन्नु भयो स्वस्थ नागरिकबाटै हामीले भने जस्तो समृद्ध नेपाल, सुखी नेपाली बन्नेछ ।’
पतञ्जली योग समिति चितवनले आयोजना गरेको कार्यक्रममा नेकपाका प्रदेश ३ का अध्यक्ष नारायण दाहाल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न सर्वसाधारणको सहभागिता रहेको थियो ।


