सिद्धान्त र इतिहासकाे गहन अध्ययन गर्न पार्टी कार्यकर्तालाई खनालकाे निर्देशन

खोटाङ, २५ जेठ /
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिद्धान्त, इतिहास र परिस्थितिको गहन अध्ययन गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ । विनाअध्ययन र समय परिस्थितिलाई नबुझी अगाडि बढ्दा काममा प्रभावकारिता नहुने स्पष्ट पार्नुहुँदै पूर्वप्रधानमन्त्री खनालले पार्टीको सिद्धान्त, इतिहास र देशको वर्तमान परिस्थितिको गहन अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।

खोटाङको दिक्तेलमा आज आयोजित नगर समितिको शपथ ग्रहण कार्यक्रममा नेता खनालले मुलुकको आमूल परिवर्तन गर्ने अभिभारा नेकपाका नेता तथा कार्यकर्ताको काँधमा रहेको बताउनुभयो । “हामीले देशमा ठूलो उपलब्धि हासिल गरेका छौँ”, उहाँले भन्नुभयो, “प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आमूल परिवर्तन गर्ने काममा लागू गर्नुपर्ने हुन्छ । यसका निम्ति पार्टीको सिद्धान्त, इतिहास र वर्तमान परिस्थितिको गहन अध्ययन गर्नुपर्छ ।” उहाँले हरेक तहमा गठन भएको पार्टी समितिले सरकारलाई मार्गनिर्देश गर्न सक्नुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता खनालले पार्टी एकताको बाँकी काम अन्तिम चरणमा पुगेकाले सबै काम चाँडै सम्पन्न हुनेमा विश्वस्त पार्नुभयो । “अहिले निर्माण भएका समिति भद्दा बनेको छ । यसमा मेरो टिप्पणी छ”, उहाँले भन्नुभयो, “भद्दा समितिले पार्टी विध्वंस हुन्छ । राष्ट्रिय महाधिवेशनपश्चात् साइजमा आउने छौँ ।”

नेता खनालले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी तथा किरात ऐतिहासिकस्थल मझुवागढी तथा कालिका भगवती मन्दिरको अवलोकन भ्रमण गर्नुभएका पूर्वप्रधानमन्त्री खनालले आजै अपराह्न नेकपाको हलेसी नगर समितिलाई समेत शपथ ग्रहण गराउनुभएको हो ।(रासस)

शेयर गरौ

ताजा अपडेट