हुरीले कैलालीमा दुईजनाकाे मृत्युु, सयजना भन्दा वढि घाइते

कैलाली, २४ जेठ । कैलालीमा बिहीबार साँझ आएको हावाहुरीमा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । हावा हुरीका कारण एक सय जति घाइते भएका छन् ।

बिहीबार बेलुकी हावाहुरी चलेपछि टीकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै त्यही ठाउँमा हुरीबतासले पर्खाल भत्काउँदा पोल्ट्रिफार्म सञ्चालन गरेर बसेका ४७ वर्षका लाहानु दवैराको ज्यान गएको छ । भत्किएको पर्खालले लागेर घाइते भएका दवैराको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । घाइते धेरै जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरुको अहिले धनगढी अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भीर भएपछि एक जना घाइतेलाई भने नेपालगञ्ज रेफर गरिएको कैलाली प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यका अनुसार, २३ जना घाइते भएका थिए । यीमध्ये १५ जनाको डिस्चार्ज भएको र ८ जनालाई धनगढी रेफर गरिएको उनले बताए । एसपी आचार्यका अनुसार, घाइतेमध्ये एक गम्भीर भए पनि बाँकीको अवस्था मध्यम छ ।

हावाहुरीले दुवै जिल्लाका भौतिक संरचनामा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, सयौंको संख्यामा रुखहरु ढलेका छन् भने घरका टिनका छाना उडाएका छन् । छाना उडाएपछि रातभर कष्टकर जीवन बिताएको पीडितहरुले बताएका छन् ।

सडकमा रुख ढल्दा कैलालीका विभिन्न स्थानको सवारी आवागमनसमेत प्रभावित भएको छ । यद्यपि, यसलाई हटाएर सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

हुरीले कैलालीमा विद्युतका पोल समेत भाँचिदिएको छ । दर्जनौंको संख्यामा जिल्लाका विभिन्न स्थानबाट पोल भाँचिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । बिजुलीका पोल भाँचिएपछि जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा बन्द भएको छ । प्रहरीका अनुसार टेलिफोन सेवा पनि प्रभावित भएको छ ।

कञ्चनपुरमा पनि हुरीले भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

शेयर गरौ

ताजा अपडेट