काभ्रेपलाञ्चोक । अविरल घनघोर वर्षापछिको बाढीपहिरोमा परेर काभ्रेपलाञ्चोक जिल्लामा मात्र ३१ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । बाढीले सबैभन्दा ठुलो असर पारेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका र रोसी गाउँपालिकाको खानी तथा क्रसर उद्योग आसपासमा बढी क्षति छ ।
पनौती नगरपालिका–१२, भूमिडाँडा, बेथानचोक गाउँपालिका, वडा नं. ४ चलाल गणेशस्थान र रोसी गाउँपालिकाको मङ्गलटार क्षेत्रमा बाढीले सबैभन्दा ठुलो असर पारेको छ । ती स्थानमा खोलाछेउका मात्रै होइन, खोलाभन्दा निकै परका पनि सयौँ घर बगाएका छन् ।
काभ्रेपलाञ्चोकको मात्रै होइन, ललितपुरको टीकाभैरव क्षेत्रमा पनि बाढीले त्यस्तै क्षति गरेको छ । भूगर्भ तथा प्रकोपविज्ञ श्रीकमल द्विवेदीले वर्षापछिको क्षतिको प्रकार एकै किसिमको भएको बताउनुभयो । खानी तथा क्रसर उद्योगसँगै ग्रामीण सडकको खनिएका ठाउँमा त्यस्ता समस्या धेरै भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकको रोसी क्षेत्रमा असार ११ गते ३०० मिलिलिटरभन्दा धेरै वर्षा भएको थियो, जुने साबिकभन्दा धेरै हो ।
सो क्षेत्रमा बाढीले अत्यधिक असर पार्नुको प्रमुख कारण भनेको खानी तथा क्रसर उद्योगले अव्यवस्थित रूपमा थुपारेको गेग्य्रानले प्रमुख भूमिका खेलेको हुन सक्ने उहाँले अनुमान गर्नुभयो । उहाँका अनुसार गेग्य्रानसहितको भेलबाढीले त्यति ठुलो क्षति पारेको हो । खोलाको प्राकृतिक बहाव क्षेत्रमा गेग्य्रानले अवरोध पारेपछि खोलो मानव बस्तीमा छिरेको देखिन्छ ।
अत्यधिक वर्षा भएपछि बर्षौंदेखिको भिरालो जमिनमा छाडिएको गेग्य्रानले बाटो अवरोध गरेपछि बाढीले त्यस्तो विनाश गरेको उहाँले बताउनुभयो । जस कारणले सडक, पुल, मानिसका घरमा असर पारेको छ ।
नेपालमा पछिल्लो समयमा भएका बाढीले पारेको क्षति गेग्य्रानसहितको बाढीकै कारण हुन थालेको उहाँले स्पष्ट पार्नुभयो । क्रमिक रूपमा माथिबाट बग्ने ठाउँमा गेग्य्रान आएपछि रोसी खोलाले बिपी राजमार्गको सतहसम्म आएको र ज्यादा क्षति पारेको उहाँको भनाइ छ । भल तर्काउने नालीसमेत नबनाई सडक बनाउने क्रम बढेसँगै पहिरोको जोखिम बढेको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले पनि काभ्रेपलाञ्चोकमा भएको क्षतिको प्रारम्भिक विवरणमा खानी तथा क्रसर क्षेत्रमा ज्यादा क्षति देखिएको उल्लेख गर्नुभयो । उहाँले पहिलो चरणमा नागरिककोे उद्धार तथा राहतमै केन्द्रीकृत भएकाले दोस्रो चरणमा यसका कारण पत्ता लगाउन विशेष योजना बनाउने बताउनुभयो तर यसको खोज र अनुसन्धान भएन भने थप क्षति हुन सक्नेतर्फ आफूहरू सचेत रहेको उहाँले स्पष्ट पार्नुभयो । बाढी प्रभावित क्षेत्रका नागरिक भने खानी क्षेत्रले अनावश्यक रूपमा गेग्य्रान खोलामा फालेपछि यस्तो परिणाम आएको दाबी उहाँले गर्नुभयो ।
पानी बग्ने ठाउँमा माटो र गेग्य्रान हालेपछि त्यसले प्राकृतिक सन्तुलनलाई असर पारेको र यस्तो विपत्ति आएको पनौती नगरपालिकाका सुदर्शन सुवेदीले उल्लेख गर्नुभयो । जहाँ खानी छ, त्यहाँ समस्या देखिनुको कारण खानीले गेग्य्रान खोलामा हालेकोभन्दा अरू कारण नदेखिएको बताउँदै अब खानीले मापदण्ड पूरा नगर्ने हो भने त्योभन्दा पनि भयावह अवस्थाको सामना गर्नुपर्ने उहाँले बताउनुभयो । राजस्व आउने नाउँमा मापदण्ड पूरा नगरी खानी तथा क्रसर चलाउन नपाउने व्यवस्था भए पनि पनौती, रोसी र बेथानचोकमा सञ्चालित कुनै पनि उद्योगले मापदण्ड पूरा गरेका छैनन् ।
अहिलेको विपत्को अवस्था हेर्दा काभ्रेमा खानी र र क्रसरसँगै ग्रामीण सडक खनिएपछि अव्यवस्थित रूपमा फालिएको माटो नै प्रमुख कारण देखिएको छ । सडक निर्माणका क्रममा निर्माण व्यवसायीले खोला र खोल्सामा लगेर माटो फाल्ने गरेको र वडामा डोजरे विकासले प्रश्रय पाएपछि यस्तो अवस्था सिर्जना भएको स्थानीय कृष्ण आचार्यले उल्लेख गर्नुभयो ।
गोरखापत्र दैनिकबाट