इच्छाकामना गाउँपालिका चितवन जिल्लाको उत्तरी भेगमा पर्छ। विकासको दृष्टिले पछाडि भए पनि पर्यटकीय दृष्टिले यसको महत्व अलग्गै छ। देशकै राजधानी जाने मुख्य पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, प्रख्यात मनकामना मन्दिर जाने मार्ग यही गाउँपालिका भएर जान्छ। यहाँका विकासका सम्भावना र चुनौतीबारे इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङसँग शालिग्राम नेपालले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
तपाईंले अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको एक वर्ष पूरा भइसकेको छ। यो अवधिमा के कस्ता काम पूरा भए ?
विकास निर्माणका अधुरा काम पूरा गर्नेतर्फ यो एक वर्ष बितेको छ। अस्पताल निर्माणका लागि १३ करोड रुपियाँभन्दा धेरैको लागतमा ठेक्का भएर काम अगाडि बढेको छ। पहाडी क्षेत्र भएकाले ग्रामीण बस्तीमा सडक सञ्जाल निर्माणको कामलाई प्राथमिकता दिएका छौँ । त्यस्तै सातवटै वडामा बाटो पुगेको छ। अब कालोपत्रे गर्ने, गुणस्तरीय सडक निर्माण गर्ने जस्ता काम भइरहेका छन्। सातमध्ये पाँच वडाको कार्यालय भवन निर्माण गर्ने काम सम्पन्न भएको छ भने गाउँपालिकाको प्रशासकीय कार्यालय निर्माणको काम गर्नुपर्ने छ।
उपचारका लागि भरतपुर वा काठमाडौँ जानुपर्ने बाध्यता कसरी अन्त्य गर्ने योजना छ ?
गाउँपालिकावासीको स्वास्थ्यको समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु। गाउँपालिकास्तरीय अस्पताल निर्माणको काम भइरहेको छ। १५ शय्याको अस्पताल यहीँ छ। चिकित्सकसहितको अस्पतालबाट सेवा दिइरहेका छौँ। स्वास्थ्य चौकीमा सुधार गरेका छौँ । अब सामान्य उपचारका लागि टाढा जानु पर्दैन।
पहाडी क्षेत्र भएकाले कृषिमा लाग्ने किसानका लागि के काम गर्नुभएको छ ?
किसानले उत्पादन गरेका वस्तु बजारसम्म लैजाने सुविधा मिलाएका छौँ। निःशुल्क कृषि एम्बुलेन्सको व्यवस्थाले किसानले उत्पादन गरेका तरकारीलगायतका कृषि उत्पादन बजारसम्म लैजान सजिलो भएको छ। बाख्रापालनमा खोर सुधार कार्यक्रम ल्याएका छौँ। फलफूल तथा तरकारी खेती गर्नेका लागि उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाएका छौँ। जहाँ जुन खेती हुन्छ, त्यही खेती गर्नेलाई तालिम प्रदान गरेका छौँ।
पूर्वाधार निर्माणका काम कसरी गर्दै हुनुहुन्छ ?
पहाडी क्षेत्र भएकाले काम गर्न सजिलो छैन। काम पाइएन भन्नेहरू धेरै भेटिन्छन् तर काम गर्न बोलाउँदा आउँदैनन्। यहाँ जनशक्तिको अभाव छ। जनताले आजको भोलि विकास खोजेका छन्। भौगोलिक विकटताले गर्दा पनि हामीले छिटो विकास निर्माणका काम गर्न सजिलो छैन।
यो गाउँपालिकामा भौगोलिक विकटता र विविधता छ। यसले पूर्वाधार निर्माणमा समस्या भए पनि पर्यटकीय सम्भावना देखाउँछ। पर्यटन क्षेत्रको विकासमा पर्याप्त ध्यान पुग्न नसकेको देखिन्छ नि ?
यो गाउँपालिकाका सबै क्षेत्र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण भएकाले पूर्वाधार निर्माणका काम अगाडि बढाएका छौँ। हाम्रो गाउँपालिकामा चितवन जिल्लाकै सबभन्दा उच्च स्थानमा रहेको सिराइचुली क्षेत्रमा पर्यटकीय गतिविधि वृद्धि गर्न खानेपानी योजना, बाटो निर्माण गरेका छौँ। यहाँ जिप लाइन बनाउने योजना छ। चितवन जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी, इच्छाकामना मन्दिरको पुनर्निर्माण, लामो झरनालाई व्यवस्थित पार्ने, सिराइचुलीबाट देखिने हिमशृङ्खला हेर्न आउनेका लागि बाटो, बस्ने स्थान, होमस्टे, रेस्टुरेन्टलगायतका लागि काम भइरहेको छ।
यही गाउँपालिकामा मुग्लिन, कुरिनटारलगायतका बजार र व्यस्त क्षेत्र पनि छन्। यहाँको व्यवस्थापनमा तपाईंको के योजना छ ?
यी बजार व्यस्त र व्यापारिक गतिविधि धेरै भएका क्षेत्र हुन्। यहाँ यातायात र फोहोरमैला व्यवस्थापन गर्नुपर्ने आवश्यकता हुन्छ। यी बजारबाट निस्कने फोहोर वर्गीकरण गरेर मल बनाउने, पुनः प्रयोग गर्न मिल्नेलाई अलग्याउने, प्रशोधन गर्न मिल्नेलाई प्रशोधन गरी राखेका छौँ। प्लास्टिकबाट टायल बनाउन मिल्ने मेसिन ल्याएका छौँ। त्यसैले विसर्जन गर्नुपर्ने फोहोर थोरै मात्रै हुने भएकाले हामीलाई समस्या छैन।
धेरै अरू स्थानीय तह जस्तै यो गाउँपालिका पनि सङ्घ र प्रदेशकै अनुदानमा निर्भर छ। आन्तरिक आय वृद्धि गर्नेतर्फ तपाईंहरूको सोच के हो ?
गाउँपालिका सञ्चालन गर्न आन्तरिक आयलाई प्राथमिकता दिनु पर्छ। सुरुको अवस्था भएकाले बाह्य स्रोतमा हाम्रो निर्भरता धेरै भए पनि यसलाई कम गर्दै जाने र आन्तरिक आय वृद्धि गर्दै लैजाने योजना अनुसार काम भइरहेको छ। चालु आवमा हामीले छ करोड रुपियाँ आन्तरिक आय परिचालन गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म चार करोड रुपियाँभन्दा धेरै राजस्व सङ्कलन भइसकेको छ। पर्यटकीय क्षेत्रको प्रचार र विकास गरी त्यहाँ शुल्क लगाएर आम्दानी गर्दै आएका छौँ। थप पर्यटकीय क्षेत्रको विकास गर्दै लैजान्छौँ। यसबाट पनि राजस्व वृद्धि हुने छ। व्यवसायमा धेरै कर लगाउनेभन्दा पनि सबैलाई करको दायरामा ल्याउने हाम्रो योजना भएकाले हाम्रो आम्दानी वृद्धि हुने छ।
पाँचवर्षे कार्यकालको बाँकी अवधिमा तपाईंको सोच के छ ?
जनताको अपेक्षा पूरा गर्नेतर्फ हामी ध्यान दिने छौँ। सबै वडामा सडक पुगेको छ। अब ती स्थानमा कालोपत्रे गर्ने, बिजुली नपुगेको स्थानमा बिजुली पु¥याउने काम हुने छ। पोल गाड्ने र तार टाँग्ने काम भएकाले एक वर्ष नपुग्दै बिजुली बल्ने छ। किसानलाई व्यावसायिक तरकारी खेतीका लागि तालिम, उन्नत बिउ, बजारको व्यवस्था मिलाउने छौँ। गाउँपालिकाबाट हुने सेवा सहज बनाई जनताको गुनासो सुन्ने र त्यसको समाधान गर्ने कामलाई छिटोछरितो बनाउने योजना छ।