अमिर रामदाम,
चितवन, २४ वैशाख । नेपाल सरकारद्वारा सञ्चालित कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषका लागी नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
महासंघले बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयका सचिव नारायणप्रसाद विडारीलाई सो सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
गत वैशाख १७ गते सुनचाँदी व्यवसायी महासंघको कन्फ्रेन्स कल बैठकबाट गरिएको निर्णयलाई कार्यान्वयनमा ल्याउँदै आज सहयोग रकम हस्तान्तरण गरिएको महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिए ।
महासंघका केन्द्रीय अध्यक्ष मोहन कुमार सुनारको नेतृत्वमा गएको सुनचाँदी ब्यवसायीहरुको प्रतिनीधिमण्डल टोलीले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । टोलीमा बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, उपाध्यक्ष पवन कुमार सोमानी, महासचिव धर्मसुन्दर बज्राचार्य र कोषाध्यक्ष महेन्द्ररत्न शाक्यको सहभागिता रहेको थियो ।
महासंघले आफ्ना जिल्लानगर संघबाट राहत तथा उद्धार कार्यमा खर्चगर्नेगरी महासंघले कुल खर्चको ४० प्रतिशत हुनेगरी रु २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
महासंघले यसअघि भुकम्पका बेला पनि सरकारको कोषमा आर्थिक सहयोग जम्मा गरेको थियो भने आपतका बेला विपन्न वर्गलाई सहयोग गर्दै आएको छ ।