काठमाडौं, २१ जेठ । नेताहरुको कार्य विभाजनका लागि आज (मंगलबार) बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक विना निष्कर्ष टुङ्गिएको छ ।
आजको वैठकले केन्द्रिय कमिटीका नेताहरुको कार्य विभाजनको टुङ्गो लगाउन नसकेपछि भोलि (बुधबार) फेरि वैठक बस्ने भएको छ ।
मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रिय कमिटी सदस्यको कार्य्विभाजनबारे छलफल प्रारम्भ गरे पनि पूर्णता नपाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ ।
‘छलफल प्रारम्भ भएको छ, पूर्णता पाइसकेको छैन,’ श्रेष्ठले भन्नु भयो, ‘भोलि १२ बजे फेरि बैठक बसेर टुंग्याउँछौं ।’ बैठकमा ७७ जिल्लाका इञ्चार्ज र सह इञ्चार्ज तोक्नेबारे छलफल भए पनि सहमतिमा पुगेन । प्रवासबारे पनि भोलि छलफल गरिने उहाले बताउनु भयो ।
सांगठनिक एकीकरणका बाँकी काम बुधबार समय भए छलफल गर्ने नभए अर्को दिन बस्ने सचिवालय बैठकमा छलफल गर्ने श्रेष्ठले जानकारी दिनु भयो । यता स्रोतका अनुसार कार्य विभाजनका लागि आवश्यक मापदण्डका विषयमा सहमति हुन नसक्दा आजको वैठक विना निष्कर्ष टुङ्गिएको हो ।


