चितवन १५ जेठ । गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको सुरक्षाको लागि लगाएको बार भत्काउन संलग्न भएको आरोपमा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पश्चिम चितवनको मंगलपुरमा निर्माणाधीन रंगशालाको सामग्री सुरक्षाको लागि लगाइएको बार केही स्थानीयले डोजर चलाएर भत्काएका थिए । स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको टोलीले बार भत्काएका थिए । बार भत्काएपछि प्रहरीले गरेको सर्च अभियानमा संकास्पद १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त दुर्गा रेग्मीले जानकारी दिनु भयो । बार भत्काउन प्रयोग भएको डोजरलाई नियन्त्रणमा राखेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न भएको आरोपमा अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको छ उहाले भन्नु भयो मुख्य आरोपी कंडेलाई पनि खोज्ने काम भइराखेको छ । घर र आसपासमा खोजी कार्य जारी रहेको छ भेटिएको छैन रेग्मीले भन्नु भयो । राष्ट्रको गौरव संरचना निर्माणका क्रममा भएको अपराधिक क्रियाकलापको प्रशासनको टोलीले स्थलगत निरिक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, महानगरपालिकाको प्रमुख सहितको टोलीले निरिक्षण गरेको थियो ।
विहान डोजर चलाउने क्रममा धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्की दिएको थियो । कलाकार सीताराम कट्टेल (धुर्मुस) ले जनताले रगत–पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्डमा डोजर चलाउदा ज्यादै दुःख लागेका बताउनु भयो । राष्ट्रमा केही गरौ भनेर घरपरिवार छाडेर काममा लागेकालाई यस्ता कार्यले विचलित पार्न कोशिस भएको बताउनु भयो ।
धुर्मुसका अनुसार आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय खुसी भएका थिए । रंगशाला निर्माणको घोषणा गर्दा स्वागत गर्ने स्थानीयबाटै अहिले यस्तो घटना हुदा आफू मर्माहित भएको घुर्मुसले बताउनु भयो ।
धुर्मुसका अनुसार विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग राखेका थिए । निर्माणाधीन क्रिकेट रंगशालाको पश्चिमतर्फबाट अहिले पनि सडक गएको छ । रंगशाला बन्ने भएपछि स्थानीयले ७ मिटरको उक्त मोटरबाटो बढाएर २१ मिटर चौडा बनाउनुपर्ने माग राख्दै आएका थिए । धुर्मुसका अनुसार स्थानीय अगुवासँग यस विषयमा पटकपटक कुरा गर्नु भएको छ । चारदिन अघिमात्रै पनि जग्गाकै विषयमा लामो कुराकानी भएको थियो । बाटो निर्माणको विषयमा कुरा टुंगो लागी सकेको थियो ।
धुर्मुसले उक्तबाटोमा मालवाहक गाडी पनि नगुड्ने र रामपुर जोड्ने बाटो भएकाले १० मिटर फराकिलो भए पुग्ने बताउनु भएको थियो । त्यसका लागि आवश्यक जग्गा छाड्न तयार हुनु भएको थियो । चारदिनको समयसीमा दिनु भएको थियो । तर आज विहान एक्कासी डोजर चल्दा आफू भक्कानिएको उहाले बताउनु भयो ।


