काठमाण्डौं , ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोग विधेयक अगाडि बढ्न नदिने भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले दुई विधेयकले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित गर्न खोजेको भन्दै तत्काल फिर्ता लिन माग गर्नु भयो ।
संविधानको मान्यताविपरीत सरकारले मानवअधिकार आयोग र मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै उनले सरकार राज्यनियन्त्रित कानुन बनाउन उद्यत रहेको आरोप लगाउनु भयो । प्रेसको अधिकार कुण्ठित गर्न ल्याइएको विधेयक कुनै हालतमा संसदबाट अगाडि बढ्न नदिने उहाको भनाइ छ ।
जनताको बलिदानबाट प्राप्त लोकतन्त्रमा सरकारले पत्रकारलाई शक्ति हातमा लिएर दण्डित गर्न खोजेको बताउँदै सचेतक भुसालले प्रेसलाई लोकतन्त्रको बलियो खम्बाको रूपमा हेरिनुपर्ने बताउनु भयो । सरकारविरुद्ध कसैले बोल्यो भनेर त्यसलाई दबाउनका लागि अलोकतान्त्रिक विधेयक ल्याएको उहाको आरोप छ । सरकारले मानव अधिकारका मूल्य मान्यतालाई स्वीकार्न नसकेको उहाले बताउनु भयो । ’लोकतान्त्रिक मुलुकले प्रेसलाई आतंकित गर्न पाउँदैन। लोकतन्त्रले मिडिया विधेयक चिन्दैन’ उहाले भन्नु भयो ।
कांग्रेसको आपत्तिलगत्तै सभामुख कृष्णबहादुर महराले सरकारका मन्त्रीहरूको ध्यानाकर्षण गराउनु भएको थियो । ।


