चितवन २७ बैशाख । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिक्षाबाट कसैलाई पनि बन्चित पार्न नहुने बताउनु भएको छ ।
रत्ननगर नगरपालिकाको १५ नं. वडालाई बालमैत्री घोषणा कार्यक्रमलाई शुक्रबार सम्वोधन गर्दै उहाले सबैलाई शिक्षा दिन सरकार तयार भएको बताउनु भयो । शिक्षाबाट नै देशले युगान्तकारी परिर्वतन गर्न सक्ने भएकाले सबैलाई शिक्षा दिनु राज्यको दायित्व भएको बताउनु भयो । उहाले भन्नु भयो ‘बालकले पढ्न पाउने अधिकार खोसिन हुदैन त्यसैले उनीहरुको अधिकार रक्षा गर्न सबैको दायित्व रहन्छ ।’ निरक्षर उन्मुलन गरेर शिक्षाको ज्योतिबाट सबैलाई प्राप्त गर्ने वातावरण निर्माणमा सरकार लग्नु पर्ने धारणा राख्नु भयो ।
सरकारले गरेका राम्रा कामलाई पनि प्रतिपक्षमा रहेको पार्टीले नराम्रो तरिकाले व्याख्या गरेको भन्दै उहाले सरकार आफ्नो मात्र पेवा हो भन्ने धारण काँग्रेसले त्याग्नु पर्ने बताउनु भयो । लोकतान्त्रिक पद्यतीमा प्रतिपक्षमा वस्नु भनेको एउटा राम्रो भूमिका भएको नेता पाण्डेले बताउनु भयो ।
कार्यक्रममा उहाले आउदो बजेटमा कयर खोला तटवन्धनको लागि ५० करोड बजेट विनियोजन हुने जानकारी गराउनु भयो । अहिले दिएको १५ करोडमा थप सो रकमले ठुलो काम गर्न मद्य तगर्ने उहाको भनाइ थियो । रत्ननगरदेखि कालिका नगरपालिका जाने सडकलगायतको स्थानमा आउदो बजेटले समेट्ने जानकारी दिनु भयो ।
बालमैत्री वडा घोषणा
रत्ननगर नगरपालिका वडा नं १५ लाई शुक्रवार तामझामका साथ वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गरिएको छ । जनप्रतिनिधि,वडा भित्र रहेका राजनीतिक दल, टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरु, विद्यार्थी, शिक्षकहरुको सहभागिताका भव्य कार्यक्रमको आयोजना गरी सो वडालाई वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गरिएको हो ।
माधवपुर माविमा आयोजित एक भब्य समारोहका बीच प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वडालाई वालमैत्री तथा वालश्रम मुक्त भएको घोषणा गरेका थिए । कार्यक्रममा पाण्डेले वडा अध्यक्ष हुमनाथ लामिछानेलाई वडा घोषणा भएको प्रमाणपत्र समेत हस्तान्तरण गरेका थिए । वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गर्नूपूर्व गर्नुपर्ने सबै सुचक अनुसार काम गरेर सो वडालाई औपचारिक रुपमा वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गरिएको वडाध्यक्ष लामिछानेले बताउनु भयो ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नगरपालिकाले लिएको लक्ष्य अनुसार एक वर्ष भित्र रत्ननगरलाई वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गर्ने बताउनु भयो । सोही अनुुसार काम गर्न सेवा प्रदायक संस्था र सकरात्मक भूमिका खेल्न वडा अध्यक्ष सहित जनप्रतिनिधिलाई आग्रह गर्नु भयो । वालश्रम न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले श्रमिक वालवालिकालाई श्रमबाट मुक्त गरी शिक्षा प्रदान गर्ने काम भइरहेको बताउनु भयो ।
प्रदेश सभा सांसदहरु कृष्णप्रसाद खनाल, कन्चन खनाल, रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, जिल्ला समन्वय समितिकी सदस्य लीलादेबी पोखरेल, वडा अध्यक्षहरु तिलकराज शर्मा, हेमराज थापा,नगर प्रबक्ता राजेन्द्र हमाल लगायतका सहभागिता रहेको थियो ।


