चितवन ।
चितवन प्रहरीले अपहरण तथा सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०७५ असार ७ गते राति करिब २ बजे मोटरसाइकलमा आएका दुई जना व्यक्तिले आफूहरू टाँडी प्रहरीबाट आएको सीआईडी प्रहरी भएको भन्दै पीडित महिलाको घरमा प्रवेश गरेका थिए। उनीहरूले पीडितको नाबालक छोरासमेतलाई बलपूर्वक मोटरसाइकलमा राखी प्रहरी कार्यालय लैजाने भन्दै जंगलतर्फ लगेर त्रास देखाउँदै सामूहिक रूपमा जबर्जस्ती करणी गरेका थिए।
घटनामा संलग्न चितवनको कालिका नगरपालिका–३ निवासी पवन थिङलाई यसअघि पक्राउ गरी अनुसन्धानपछि चितवन जिल्ला अदालतले अपहरण तथा जबर्जस्ती करणी मुद्दामा १९ वर्ष कैद र ५५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
घटनापछि फरार रहेका अर्का प्रतिवादी कालिका नगरपालिका–७ निवासी सुमन तामाङ (सुमन दोङ) लाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका तामाङलाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार उनलाई फैसला कार्यान्वयनका लागि कारागार कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


