तीर्थ नेपाल, चितवन ।
यो हो गीतानगर बजार—साविक गीतानगर गाविसको मुकाम, अहिले भरतपुर महानगरपालिकाको हिस्सा। चितवनको राजनीतिक इतिहासमा गीतानगरले छुट्टै पहिचान बनाएको छ। विशेषगरी बहुदलीय प्रजातन्त्रका पक्षधर राजनीतिककर्मीहरूको बलियो प्रभाव रहेको क्षेत्रका रूपमा यो परिचित रहँदै आएको छ।
चिरञ्जीवी नेपाली कोइराला र रामचन्द्र कोइरालाजस्ता प्रजातन्त्रवादी अगुवाहरू यही भूमिका प्रतिनिधि पात्र हुन्। २०३६ सालको विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन लगायतका लोकतान्त्रिक संघर्षहरूमा उनीहरूले अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका थिए। यही माटोले २०४६ सालको जनआन्दोलनका शहीद गणेश पौडेललाई पनि जन्माएको थियो, जसको योगदान यहाँका बासिन्दाले आज पनि सम्मानपूर्वक स्मरण गर्छन्।
स्थानीय निर्वाचनको इतिहास हेर्दा पनि गीतानगर लामो समय नेपाली कांग्रेसको प्रभाव क्षेत्रमा रह्यो। २०४९ सालमा थमनबहादुर थापा गाविस अध्यक्ष र रामबहादुर थापा उपाध्यक्ष निर्वाचित भए भने २०५४ सालमा मणिराज श्रेष्ठ अध्यक्ष र काशीराज श्रेष्ठ उपाध्यक्ष बने। उनीहरू सबै नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
उमेश पौडेल, नारायण कोइराला, टिकाराम न्यौपाने, चन्द्रकान्त न्यौपाने, मनोहरी कोइराला लगायतका नेताहरूले यस क्षेत्रमा कांग्रेस संगठनलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेले। यसैबीच, बामपन्थी आन्दोलनका सक्रिय नेता दण्डपाणि न्यौपानेलाई पनि इतिहासले बिर्सन सक्दैन। आन्दोलनकै क्रममा बेपत्ता भएका उनी आजसम्म फर्किएका छैनन्।
समग्रमा हेर्दा गीतानगर लामो समयसम्म नेपाली कांग्रेसको गढका रूपमा चिनियो। पछिल्लो पुस्तामा दिनेश कोइराला, भरत दबाडी, राजीव न्यौपाने लगायतका व्यक्तिहरू राजनीतिक रूपमा सक्रिय देखिन्छन्। तर समयसँगै यहाँको राजनीतिक सोच र मतदाताको प्राथमिकतामा परिवर्तन आएको छ। कुनै समय ६०–७० प्रतिशत मत रुख चिन्हमा खस्ने यस क्षेत्रमा पछिल्ला निर्वाचनहरूमा नयाँ राजनीतिक शक्तिहरूको प्रभाव उल्लेखनीय रूपमा बढेको देखिएको छ।
अन्य कारणहरु संगै अनावश्यक गठवन्धन संस्कृतिलाई काङ्ग्रेसका भुई सदस्यहरुले अरुची मानेका कारण पनि मत खस्किने क्रम बढेको काङ्ग्रेस निकट बुद्दिजिवी अधिवक्ता उद्धव लोहनीको बुझाई छ ।
राजनीतिक धार र मत परिणाम फेरिए पनि एउटा तथ्य भने निर्विवाद छ—गीतानगर बजारले चितवनमा प्रजातन्त्रको चेतना फैलाउन, लोकतान्त्रिक आन्दोलनलाई ऊर्जा दिन र राजनीतिक नेतृत्व उत्पादन गर्न महत्वपूर्ण योगदान दिएको छ। त्यसैले यो बजार केवल व्यापारिक केन्द्र मात्र होइन, लोकतान्त्रिक इतिहासको एक महत्वपूर्ण अध्याय पनि हो ।


