राष्ट्रिय सम्मेलनमा सहभागी हुन देशभरका पत्रकार महिला चितवनमा

चितवन समाचार डटकम, १६ माघ ।
पत्रकार महिलाको राष्ट्रिय सम्मेलनमा सहभागी हुन देशभर पत्रकार चितवनमा भेला भएका छन् ।
पश्चिम चितवनको पटिहानीमा विहिवार हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुन देशभरका दुईसय पत्रकार महिला यहाँ भेला भएका हुन् । सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन पुर्वप्रधानमन्त्री प्रचण्ड चितवन आईसक्नुभएको छ ।
नेपाल पत्रकार महासंघ महिला समितिको आयोजना एवम् जिल्ला शाखा चितवनको आतिथ्यमा सम्मेलन हुन लागेको हो । सम्मेलनमा सहभागी हुन आएका पत्रकार महिलाहरुलाई बुधवार साँझ पटिहानीमा स्थानीय थारु र मगर समुदायले साँस्कृतिक झाँकी देखाएर स्वागत गरे । देशभरका पत्रकारहरुको भेलाले भरतपुर महानगरपालिका वडा नम्वर २२ मा रहको पटिहानीको सौन्दर्य र पर्यटनको प्रचार प्रसारमा सहयोग पुग्ने वडाअध्यक्ष विष्णुराज महतोले विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनमा सहभागी हुन आएका पत्रकारहरुलाई स्थानीय बासिन्दाले टोल समुदायमा स्वागत गेट बनाएर , घर अगाडी घडा राखेर स्वागत गरेका छन् । सम्मेलनमा सहभागी हुन आएका सवैलाई पटिहानीका होटलहरुमा बसोवासको ब्यवस्थापन गरिएको नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयो ।
विहिवार उद्घाटन पछि हुने वन्द शत्रले नेपालका पत्रकार महिलाको पेशागत चुनौती र समस्यावारे घनिभुत छलफल गरी यसको समाधान र वर्तमान अवस्थालाई समेटेर पटिहानी घोषणा पत्र जारी गर्नेछ ।

शेयर गरौ

ताजा अपडेट