चितवन समाचारडटकम
चितवन, १५ माघ । नेपालमा उत्पादन हुने कुल अण्डाको ३५ प्रतिशत चितवनले मात्रै उत्पादन गर्ने गरेको पाइएको छ ।
नेपाल पोल्ट्री व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बरालका अनुसार देशभरीमा उत्पादन हुने अण्डाको ३५ प्रतिशत चितवन जिल्लाले उत्पादन गर्दै आएकाले यस जिल्लाको महत्व धेरै रहेको बताउनु भयो । वरालले भन्नु भयो ‘पोल्ट्रीको लागि चितवन राजधानी हो यहाँ कुखुराजन्य उत्पादन अन्य जिल्लामा भन्दा धेरै छ ।’ उहाका अनुसार नेपालमा अहिले दैनिक ३५ लाख अण्डा उत्पादन हुदै आएको छ । त्यसमा चितवनले मात्रै ३५ प्रतिशत अर्थात दैनिक १० लाख अण्डा उत्पादन हुने गरेको छ ।
जिल्लामा उत्पादन भएको अण्डा २० प्रतिशत मात्रै स्थानीय बजारमा बिक्री हुने गरेको छ । बाँकी ८० प्रतिशत अण्डा काठमाण्डौ, पोखरा लगायतका ठुला बजारमा जाने गर्दछ । पोल्ट्री विज्ञ डा तिलचन्द्र भट्टराइका अनुसार पोल्ट्री जन्य उत्पादनले नेपाल आत्मनिर्भर हुन थालेको छ । तर कच्चा पदार्थ भने विदेशबाट आयात गर्नु अर्को कमजोरी पक्ष रहेको उहाँको भनाइ छ । ‘अण्डामा अहिले नेपाल आत्मनिर्भरको अवस्थामा पुगेको छ, कुखुराको मासुको मागलाई पनि धान्न सकिने अवस्थामा पुग्न थालेको छौ ।’ अण्डा उत्पादनको हिसाबले चितवन अन्य जिल्ला भन्दा अगाडि छ उहाले भन्नु भयो ।
पोल्ट्री व्यवसायी मञ्चको कार्यालयका अनुसार लेयर्स चल्ला प्रति हप्ता दुई लाख ५० हजार, ब्रोइलर चल्ला प्रतिहप्ता २७ लाख गोटा उत्पादन हुँदै आएको छ । कुखुरालाई आवश्यक दाना प्रतिदिन तीन हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । अण्डामा नेपाल आत्मनिर्भरको अवस्थामा पुगेपनि भन्सार छलेर लुकीछिपी भारतबाट अस्वस्थ अण्डा आउने गरेकाले यहाको बजारलाई समस्या पर्ने गरेको यहाँका व्यवसायीहरुको भनाइ छ । व्यवसायीका अनुसार कुखुराको मासु प्रतिदिन नौ लाख किलो उत्पादन हुँदै आएको छ । पोल्ट्री व्यवसायले एक लाख ७० हजारलाई प्रत्यक्ष रोजगारी दिएको मञ्चले जानकारी दिएको छ ।