चितवन समाचार डटकम,
५ असार ।
जिल्लाको सरकारी अनुगमन टोलीले अनुमती नलिइ कक्षा सञ्चालन गरेका चितवनका चारवटा शैक्षिक सस्थालाई पाँच दिनभित्र कागज नल्याए बन्द गर्ने चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनबाट खटिएको टोलीले भरतपुरका विभिन्न स्थानमा तयारी कक्षा सञ्चालन गर्दै आएका तर प्रदेश सरकारको अनुमती नलिएका त्यस्ता शैक्षिक सस्थालाई आवश्यक कागज नल्याए बन्द गर्ने चेतावनी दिएको हो । स्थानीय तहका लागि लोकसेवा आयोगले माग गरेको विभिन्न तहको कर्मचारीका लागि तयारी कक्षाहरु सञ्चालन गर्ने र ब्रिजकोर्स पढाउदै आएका त्यस्ता सस्थामा आज अनुगमन गरेको थियो ।
भरतपुर महानगरपालिका वडा नंं १० हाकिमचोकमा सञ्चालन हुदै आएको लोकसेवा तयारी केन्द्र प्रालिले प्रदेश सरकारबाट अनुमती नलिइ सञ्चालन गरेको पाइएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीले बताउनु भयो । केन्द्रले वर्षौदेखि लोकसेवा तयारी कक्षाहरु चलाउदै आएको छ । प्रदेश सरकारबाट अनुमती लिनु पर्नेमा नलिएकाले पाँच दिन भित्र आवश्यक कागज ल्याउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि उमेशचन्द्र पन्थीले जानकारी दिनु भयो ।
अनुगमनका क्रममा क्षमता भन्दा धेरै विद्यार्थी कोचेर राखिएको, गर्मीको ख्याल नगरेको सकसमा विद्यार्थीलाई अध्यापन गराइएको पाइएको टोलीले जानकारी दिएको छ । विद्यार्थीसंग लिने शुल्कको विषयमा जानकारी दिन नसकेको पाइएको छ । स्थानीय तहको लागि लोकसेवा आयोगले मागेको जनशक्तिलाई केन्द्रीत गरी पढाउदै आएको केन्द्रले सरकारको मामदण्ड पूरा गरेको छैन । मापदण्ड पूरा नभएका तोकिएको समयमा कागज नल्याएका सस्थालाई बन्द गर्न बाध्य हुने प्रतिनिधि पन्थीले बताउनु भयो ।
त्यस्तै गरी चितवन मेडिकल कलेज अगाडि रहेको एभरेष्ट टच इन्ष्टिच्युटले पनि प्रदेश सरकारको अनुमती नलिइ ब्रिजकोर्स सञ्चालन गर्दै आएको पाइएको छ । चितवनको पुरानो तयारी कक्षा भएपनि अनुमती नलिइ सञ्चालन गरेकाले आवश्यक कागज ल्याउन प्रशसनले निर्देशन दिएको छ ।

लोकसेवा तयारी केन्द्र र एभरेष्ट टच इन्ष्टिच्युटले प्रदेशबाट अनुमती लिएका छैनन् । यस अघि शिक्षा मन्त्रालयबाट अनुमती लिने व्यवस्था रहेको थियो । तर प्रदेश सरकार भइसकेपछि प्रदेशबाट लिनु पर्ने व्यवस्था रहेको छ ।
स्टेशनरी पसलले लोकसेवा कक्षा सञ्चालन गरे
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय अगाडि रहेको भावना स्टेशनरीले हाकिमचोक नजिकै कृषि विकास बैंक पछाडि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । स्टेशनरी पसल सञ्चालन गर्न अनुमती लिएको सस्थाले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको पाइएको हो ।

दर्ता नै नगरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीले बताउनु भयो । स्टेशनरी पसलले शैक्षिक कार्यक्रम सञ्चालन गर्न सरकारी निकायबाट अनुमती लिएको छैन । दर्ता गरेर मात्र कक्षा सञ्चालन गर्न टोलीले निर्देशन दिएको छ । शिक्षा इकाइका प्रमुख, घरेलु कार्यालय, प्रहरी, उपभोक्ता अधिकार मञ्च, सञ्चारकर्मीसहितको टोलीले गरेको अनुमगन गरेको थियो ।
मन्टेश्वरी तालिम दिने सस्थाले लोकसेवा कक्षा चलाए
मन्टेश्वरी तालिम दिने भनी भरतपुर महानगरपालिकाबाट अनुमती लिएको आइटिबी (मन्टेश्वरी ट्रेनिङ एण्ड टिचिङ)ले लोकसेवाको तयारी कक्षाहरु सञ्चालन गरेको छ ।
भरतपुर महानगरपालिका वडा नंंं १० सिनर्जी रोडमा रहेको यस सस्थाले विभिन्न शैक्षिक तयारी कक्षाहरु सञ्चालन गरेको सञ्चालक कृष्णप्रसाद आचार्यले बताउनु भयो । आफूलाई जानकारी नभएकाले कक्षा चलाएको उहाँको भनाइ छ ।

सामान्य व्यवसाय सञ्चालन गर्न अनुमती लिएको सस्थाले शैक्षिक कार्यक्रम चलाउन नपाइने टोलीले जनाएको छ । प्रदेश सरकारबाट अनुमती नलिइ सञ्चालन गर्न नपाइने भन्दै अबको पाँच दिनभित्र आवश्यक कागज नल्याए बन्द गर्ने चेतावनी दिएको छ ।


