धनुषा, ५ असार ।
धनुषामा आज विहानै तीन वटा होटलमा भिषण आगालागी भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आगलागीका कारण होटलमा राखिएको ग्याँस सिलिण्डर पड्किँदा तीन वटा होटल जलेर खरानी भएका छन् ।
कदम चोकस्थित गोविन्द मिष्ठान्न भण्डारमा शुरुमा आगलागी भएको थियो । आगलागीमा परेर ग्याँस सिलिण्डर पड्किँदा छेउका अन्य दुई होटल समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
होटेलभित्र एकै ठाउँमा राखिएका नौं वटा खाना ग्याँस सिलिण्डर क्रमशः विष्फोट भए पनि मानवीय क्षति भने हुन पाएन । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षति संकलनको काम भइरहेको पनि प्रहरीले जनाएको छ ।


