चितवन समाचार डटकम, ३ असार ।
राप्ती नगरपालिका वडा नम्वर ६ स्याउली बजार संगै जोडिएको राप्ती एकता मध्यवर्ती सामुदायिक बन भित्र निर्माण गरिएको भस्माडी ताल (पोखरी)का कारण खैरहनी नगपालिका वडा नम्वर १०का किसानलाई सिचाँईमा समस्या परेको छ ।
एक करोड ६८ लाख लागतमा ४६ बिगाह क्षेत्रफलमा पानीको मुहान क्षेत्रलाई ब्यवस्थापन गरि ताल बनाइएको हो । यसको निर्माणमा प्रदेश सरकारको ५० प्रतिशत, समुदायको ३० प्रतिशत र राप्ती नगरपालिकाको २० प्रतिशत लगानी रहेको नगर प्रमुख प्रभा बरालले जानकारी दिनुभयो ।
बुढी राप्ती खोला नजिकको पानीको मुल रहेको त्यसठाँउबाट कुलो बनाएर खैरहनी नगरपालिका वडा नम्वर १० का किसानहरुले बर्षौ देखि सिँचाई गर्दै आएका थिए ।
पोखरी निर्माण हुदा कतिपय मुल पनि पुरिएको स्थानीयको भनाई छ । बाँध बनाएर आधा दर्जन पोखरी बनाइएको छ । बाँधले चलनचल्तीको कुलोमा पानी जान बन्द भएको छ ।

पोखरीको दक्षिण तर्फ हाल बनाएको बैकल्पिक कुलो प्रयोगका हिसाबले अनुपयुक्त रहेको स्थानीय किसान बताउँछन् । उनीहरुले कुलो बन्द हुदा मर्का परेको बताए ।
ताल निर्माणले मुल पुरिएको र कुलो थुनिएको कारण सिँचाईमा समस्या परेको बुढी राप्ती जल उपभोक्ता समितिका अध्यक्ष बामन महतोले बताउनुभयो ।
महतोका अनुसार त्यस कुलोको पानीबाट एक सय ५ हेक्टर जमिन सिँचाई हुने गरेको छ ।
समितिका कोषाध्यक्ष एवम् स्थानीय किसान बन्धु चौधरीले कुलोमा पानी बन्द हुँदा आफुहरुलाई मर्का परेको बताउनुभयो ।‘हामीले बर्षौ देखि यही पानीलाई प्रयोग गर्दै आयौं अहिले थुनेर पोखरी बनाएका छन् किसानलाई मर्का पयार्’े चौधरीले भन्नुभयो ।
पोखरीको बाँधले कुलो थुनिएको भन्दै आक्रोशित किसानले तल र माथिको बाँध भत्काएर खोलेका छन् ।
अर्का स्थानीय सुनीत रेग्मीले पोखरी निर्माणले किसानलाई प्रत्यक्ष समस्या परेको बताउनुभयो ।‘यही कारण आज पोखरीको तल र माथी पटि बाँध खोल्न हामी बाध्य भएका छौं, रेग्मीले भन्नुभयो ।

खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीले पोखरीको बाँधले कुलो थुनिएकाले किसानलाई समस्या परेको बिषयमा आफु जानकार रहेको बताउनुभयो । पोखरी पनि बन्ने, किसानको सिँचाईको समस्या पनि टर्ने गरी उपायको खोजी गरिनुपर्ने चौधरीले बताउनुभयो ।

राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले किसानलाई मर्का पार्ने आफुहरुको उदेश्य नरहेको जनाउदैं समिति बनाएर समस्याको समाधान खोज्ने प्रयास भैरहेको बताउनुभएको छ । ‘सिँचाई गर्न पाउने किसानको अधिकार हों यसमा हामी सचेत छौं पहिलो प्राथमिकता पनि किसान लाई दिइने छ ’, बरालले भन्नुभयो ।


