चितवन समाचार डटकम, २ असार ।
भरतपुर महानगरपालिका वडा नम्वर २३ जगतपुरमा रहेको गौचरनलाई घेरावन्दी गर्ने क्रममा साविकको सडकको चौडा घटेपछि स्थानीय र महानगरको सार्वजनिक जग्गा संरक्षण समिति बिच देखा परेका बिवाद अझै सुल्झन सकेको छैन ।
महानगरको सार्वजनिक जग्गा संरक्षण समितिले ६ मिटर वाटोलाई छाडेर अहिले गौचरनलाई पर्खाल लगाउन शुरु गरेको छ । तर, स्थानीयले बिरोध गरेपछि पर्खाल लगाउने काम समेत प्रभावित हुनपुगेको छ ।
यसै सन्दर्भमा जानकारी गराउन आज २३ नम्वर वडा कार्यालयको आयोजना एवम् भरतपुर महानगर सार्वजनिक जग्गा संरक्षण समितिको उपस्थितीमा गौचरन परिसरमा पत्रकार सम्मेलन गरिएको थियो ।

पत्रकार सम्मेलनमा वडा नम्वर २३ का अध्यक्ष नरिनारायण पौडेलले सार्वजनिक जग्गाको संरक्षण गर्ने उदेश्यले यसको वरीपरी घेराबन्दी गर्न लागीएको बताउनुभयो ।
आफुहरुले गौचरन र स्थानीय जनताको बराबरी साझेदारीमा सडक वनाउने प्रस्ताव अघि सारेको भएपनि अहिले महानगरबाट ६ मिटर र २ मिटरको साझेदारीको निर्णय आएकाले त्यसको कार्यान्वयन गर्न लागेको उल्लेख गर्नुभयो ।
गौचरन परिसरमा वडा कार्यालय निर्माण हुन लागेको सन्दर्भमा आसपासका जनताले यसको संरक्षणमा अहिले थप सहयोग पुर्याउनु पर्ने पौडेलको भनाई थियो । गौचरन संरक्षणको लागी अहिले ६ लाख रुपैया बजेटमा पर्खाल लगाउने काम शुरु गरिएको पौडेलले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा उपस्थित स्थानीय शिव चालिसेले गौचरन आसपासमा यसअघि चलनचल्तीको बाटोलाई कायम राख्न माग गर्नुभयो । ‘हाम्रो अरु कुरा केही होईन बिगतमा ०१७ साल देखी यहीँका जनताले यसको संरक्षण गरे, बाटो चल्यो अहिले तेही चलाउ भन्ने मात्र हो ’ चालिसेले भन्नुभयो ।
पत्रकार सम्मेलनमा भरतपुर महानगरपालिका सार्वजनिक जग्गा संरक्षण समितिका संंयोजक अरुणपिडीत भण्डारीले गौचरनको जग्गा बाटो प्रयोजनमा ६ मिटर भन्दा बढी छाड्न नसकिने बताउनुभयो ।
महानगरको निर्णय सुनाउदैं भण्डारीले भन्नुभयो, ‘गत सालको साउन ७ गते जगतपुर गौचरन वरिपरीको सडकमा गौचरनको ६ मिटर र स्थानीयको २ मिटरको साझेदारीमा बाटो निर्माण गर्ने निर्णय भएको छ’ ।
तर, यहाँ स्थानीयले छाड्न नमानेको खण्डमा ६ मिटरको बाटो भने निर्माण हुने भण्डारीले बताउनुभयो ।
आफुहरुले सार्वजनिक जग्गालाई ब्यवस्थीत गरी संरक्षण गर्ने अभियान चलाएको उहाँले बताउनुभयो । महानगरले हाल सम्म ६८ विगाह सार्वजनिक जमिन पहिचान गरी संरक्षण गरेको भण्डारीले जानकारी दिनुभयो ।
हाल गौचरन आसपासमा ८ देखि १० मिटर बाटो चलनचल्तीमा छ । यो बाटो सबै गौचरनको रहेकाले यसमध्ये ६ मिटर मात्र छाड्ने महानगरको अडान छ ।
चलचल्तीको सडकलाई कायम गरी पाँउ भनि स्थानिय जनताले महानगरपालिका कार्यलयमा पनि पटक पटक ताकेता गरेका थिए । चलनचल्तीको सडक साँघुरो बनाउने कार्यले आफुहरु अन्यायमा परेको बताउदै आएका छन् ।
पत्रकार सम्मेलनमा भरतपुर महानगरपालिका वडा नम्वर १२ का अध्यक्ष नरेन्द्र कन्दंवा, ५ का अध्यक्ष पदमपाणी सुवेदी, ७ का अध्यक्ष राजेन्द्रमणी काफ्ले पनि सहभागी हुनहुन्थ्यो ।
गौचरनको क्षेत्रफल तीन बिगाह १९ कठ्ठा १७ धुर रहेको महानगरपालिकाले जनाएको छ ।


