काठमाडौं, ३० जेठ :
समाजवादी पार्टी नेपालले आज निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने भएको छ । झण्डा र चुनाव चिन्ह टुंगो लगाएर आज दिउँसो दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी रहेको समाजवादी पार्टीले जनाएको छ । चुनाव चिन्ह र झण्डाबारे आजै बस्ने पदाधिकारीको बैठकले टुँगो लगाउने तयारी छ ।
यसअघि संघीय समाजबादी फोरमले प्रयोग गरेकै झण्डालाई नयाँ दलको पनि झण्डा बनाउने कुरामा लगभग सहमति रहेको तर चुनाव चिन्ह भने के राख्ने भन्ने बारेमा टुंगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन् । नेताहरुका अनुसार यसअघिको संघीय समाजवादी फोरमको झण्डा नयाँ दलको पनि झण्डा हुने निर्णय भए चुनाव चिन्ह यसअघिको नयाँ शक्तिले प्रयोग गरेको चिन्ह आँखा हुने वा नयाँ चिन्ह राख्न प्रस्ताव गर्ने भन्नेबारे आजको बैठकले निर्णय गर्नेछ ।
यसअघिको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल मिलेर समाजवादी पार्टी बनेको हो ।


