काठमाडौं, २६ जेठ ।
काठमाडौं उपत्यकामा आइतबार भोटो जात्रा मनाइँदैछ । भोटो जात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । त्यस्तै विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।
रातो मच्छेन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्याएको थियो । जावलाखेल पुर्याएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार भोटो देखाउन लागिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताएका छन् ।
गुर्जु पल्टनको सलामी, बाजा, नृत्यसहित रातो मच्छेन्द्रनाथको रथ अघि र पछि मीननाथको रथ थतीचोकबाट जावलाखेल पुर्याएको छ । आइतबार साँझ पाँच बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइने छ । गुठी संस्थानका प्रमुख पौडेलले राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने छन् । आइतबार बिहान आठ बजे बुंगमतीबाट मच्छेन्द्रनाथको भोटो ल्याइने छ । भोटो देखाइसकेपछि पनि पुनः बुंगमतीमै पुर्याइने छ ।


