काठमाडौं, जेठ २२ :
इस्लाम धर्मावलम्बीहरुले बुधबार इद उल फित्र विशेष रूपमा मनाउँदैछन् ।
इद उल फित्र कै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य दलका नेताहरुले शुभकामना दिएका छन् । यसैबीच सरकारले इस्लाम समुदायको पर्व इदको अवसरमा बुधबार सार्वजनिक बिदासमेत दिएको छ ।
गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले यसअघि बिहीबार इद उल फित्र पर्ने भन्दै २३ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर इद उल फित्र बुधबार नै पर्ने भएपछि सरकारले निर्णय सच्चाउँदै बुधबारका लागि बिदा दिने निर्णय गरेको हो ।
यसअघि प्रदेश २ ले पनि बुधबार प्रदेशभर सार्वजनिक बिदाको घोषणा गरेको थियो ।


