काठमाडौं २१ जेठ । नेकपाका नेता घनश्याम भुसालले ठूला भ्रष्टाचार घटनामा राष्ट्रिय सहमति हुने गरेको बताउनु भइको छ ।
कानुनको पालनामा भएको बलमिच्याईका कारण राज्य र समाजमा ब्यापक विकृति देखिएको भन्दै उहाले राष्ट्रिय सहमति विना ठूला घोटाला हुन नसक्ने बताउनु भयो ।
‘अरब भन्दा माथिको भ्रष्टाचार व्युरोक्रेसीले मात्र गर्छ ?’ उहाले प्रश्न गर्नु भयो ‘यद्यपी कारबाही भयो भने ब्युरोक्रेसीको मान्छे पर्छ, माथिको मान्छे कम पर्ने गरेका छन् । तर यो निसन्देह भन्न सकिन्छ ठूला घोटाला एक्लै हुँदैन, एक हिसाबले भन्न सकिन्छ, त्यो राष्ट्रिय सहमति बन्छ ।’
आज संसदमा बजेट छलफलमा भाग लिँदै उहाले राजनीतिक दलभित्र फस्टाएको दलाल पुँजीवादका कारण समाज विस्तारै भ्रष्टाचारमा फस्दै गएको बताउनु भयो ।
‘राजनीतिक पार्टी माथिदेखि तलसम्म दलाल पुँजीवादको प्रक्रियामा मिसिएका छन् तिनले हाम्रो समाजलाई निरन्तर करप्ट बनाउँदैछन’ उहाले भन्नु भयो ‘उनीहरु आफू करप्ट छैनन, अरुलाई करप्ट बनाउँदैछन् ।’
दलहरुकै कारण समाजमा भ्रष्टाचार बलियो हुँदै गएको भन्दै उहाले वलशाली भ्रष्टाचारका कारण समाज भ्रष्टाचारको दुष्चक्रमा फस्दै गएको बताउनु भयो । ‘यो नतोड्ने हो भने ऐतिहासिक रुपले राजाले सुरु गरेको, हामीले नियन्त्रण गर्न नसकेको, जानेर नजानेर त्यसमा (भ्रष्टाचारमा) पस्दै गएको दुष्चक्र निरन्तर बढिरहने जस्तो देखिन्छ’ भुसालले भन्नु भयो ।


