काठमाडौं, १९ जेठ :
मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ ।
बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हँुदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “तीन÷चार दिनसम्म अझै प्रायः अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने देखिन्छ ।
दिउँसो घाम लागे पनि साँझपख मौसममा बदली भई पश्चिम तराई बाहेकका स्थानमा वर्षा हुने सम्भावना छ”, महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भन्नुभयो । जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रह्यो भने मनसुन हुन्छ तर त्यो प्रणाली हाल शुरु भइसकेको छैन ।
अहिले वायुमण्डलको तल्लो सतह (एक÷डेढ किलोमिटरसम्म) मात्र उक्त वायुको प्रभाव रहेको मौसमविद् अर्यालले बताउनुभयो । सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । तर यस वर्ष झण्डै एक साता ढिला हुने देखिएको महाशाखाको अनुमान छ । नेपालमा मनसुन प्रवेश हुने भारतको केरलामा अहिलेसम्म मनसुन शुरु भएको देखिँदैन ।
पश्चिम तराईमा केही दिन अझै सुक्खा नेपालको पश्चिम तराईमा भने यस मौसम प्रणालीको प्रभाव छैन । बङ्गालको खाडीबाट पनि टाढा रहेको र पश्चिमी वायुको प्रभाव तराईमा सधँै नपर्ने भएकाले नेपालगञ्जदेखि पश्चिमको तराईमा भने अझै केही दिन सुक्खा रहने मौसमविद् अर्यालले जानकारी दिनुभयो ।


