काठमाडौं, १४ जेठ :
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसदले नै बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
सत्तारुढ नेकपाका प्रतिनिधिसभाका सांसदहरु राधा ज्ञवाली, भूमि प्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले बूढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अझै अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।
मंगलबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सत्तारुढ नेकपाकी सांसद एवं पूर्व-ऊर्जामन्त्री ज्ञवालीले सरकारले १२ सय मेघावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको काम अहिलेसम्म पनि अघि बढाउन नसकेकोमा आपत्ति जनाए ।
उनले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने सो जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे ।
त्यसैगरी, सत्तारुढ दलकै सांसद त्रिपाठीले पनि जलविद्युत् आयोजनाहरूको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले मुलुकको आर्थिक समृद्धिमा योगदान दिनसक्ने जलविद्युत आयोजनाको कामलाई प्राथमिकताका साथ अघि बढाउन किन नसकेको भन्दै सरकारलाई प्रश्न गरे ।
सरकारले संसदीय समितिहरुले दिएको निर्देशन पालना नगरेकोमा पनि समितिका सदस्यको असन्तुष्टि छ। समितिका सदस्य पाल्देन छेपाङ गुरुङले संसदीय समितिले दिएको निर्देशन पालना नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
उनले बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका जनतालाई जग्गाको मुआब्जा वितरण गर्ने काम तत्काल सुरु गर्न पनि सरकारलाई सचेत गराए। सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको काम हालसम्म पनि अघि बढाउन नसकेपछि सत्तारुढ दलकै सांसद सरकारविरुद्ध खनिएका हुन् । उनीहरुले नलसिङ गार्ड जलविद्युत आयोजनाको कामलाई अघि बढाउन पनि सरकारलाई दवाव दिएका छन् ।


