पार्वतीपुरमा प्रहरी कार्यालय स्थापनाका लागि जग्गा प्राप्त, स्थायी कार्यालय सञ्चालन गर्न सहयोग पुग्ने

चितवन ११ जेठ । भरतपुर महानगरपालिकाको वडा नंं २१ पार्वतीपुरमा प्रहरी चौकी स्थापना हुने भएको छ ।
शान्ति सुरक्षाको माग गर्दै आएका स्थानीयको आवश्यकतालाई पूरा गर्दै प्रहरी चौकी स्थापनाका लागि जग्गा हस्तान्तरण गरिएको छ । भरतपुरमा वढ्दो सहरीकरणसंगै शान्तिसुरक्षाको माग पनि उठेकाले महानगरपालिकाले प्रहरी कार्यालयको लागि ५ कट्ठा जग्गा उपलब्ध गराएको हो ।
उपलब्ध गराएको जग्गा प्रहरीलाई हस्तान्तरण गर्दै महानगरपालिकाकी प्रमुख रेनु दाहालले शान्तिसुरक्षाले मात्र आर्थिक समृद्धिको नारा पूरा हुने बताउनु भयो । भयरहित वातावरणमा मात्र विकास सम्भव भएको भन्दै उहाले पार्वतीपुरमा प्रहरी चौकी स्थापनापछि यहाँको शान्ति सुरक्षाको अवस्था सुधार हुदै जाने बताउनु भयो ।
प्रमुख दाहालले महानगरपालिकाले शिक्षा, विकास , सुरक्षा लगायतका क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिनु भयो । चौकी स्थापनापछि प्रहरीको सख्या नभएको भन्दै जनशक्ति विनाको कार्यालय सञ्चालन हुन नसक्ने भन्दै प्रहरी प्रमुखलाई ध्यानाकर्षण गराउनु भयो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भरतपुर देख्दा सामान्य जस्तो लागेपनि जग्गा प्राप्तीले शान्तिसुरक्षामा धेरै सहयोग मिलेको बताउनु भयो । जनताको माग धेरै स्थानमा प्रहरी चौकी राख्नु पर्ने भएपनि स्थानको अभाव अन्य कारणले धेरै ठाउमा सम्भवन नभएको बताउनु भयो । तर चितवनमा भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गाले शान्तिसुरक्षाको लागि धेरै सहयोग पुगेको बताउनु भयो । जग्गा प्राप्तीपछि कार्यालय स्थापना, जनशक्ति व्यवस्थापन लगायतको काम गर्न सहज हुने जानकारी दिनु भयो ।
सुरक्षित समाज निर्माण गर्नु नै नेपाल प्रहरीको प्रमुख उद्देश्य रहेको भन्दै प्रहरीलाई गल्ती गर्ने कुनै छुट नभएको बताउनु भयो । महानिरिक्षक खनालले शान्तिसुरक्षा अमनचयन कायम राख्न सम्पूर्ण प्रहरी दर्जालाई निर्देशन दिँदै नागरिकसँग सहकार्य गरेर अगाडि बढ्न निर्देशन दिँदै आमनागरिकले प्रहरीलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा लगायतले मन्तब्य राख्नु भएको थियो ।
भरतपुर महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जग्गा प्रदान सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट