पटिहानीमा पर्यटन प्रहरी कार्यालय स्थापना, विदेशी पर्यटक धेरै आउने अपेक्षा

चितवन ११ जेठ । चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पर्यटन प्रहरी कार्यालय स्थापना गरिएको छ ।
पर्यटकहरुको लागि सुरक्षाको अभाव खड्किरहेको समयमा यहाँका स्थानीयको माग अनुसार पर्यटन प्रहरी कार्यालय स्थापना गरिएको हो । नेपाल प्रहरीका महानिर्देशक सर्वेन्द्र खनालले शनिवार कार्यालयको उद्घाटन गर्नु भयो । भरतपुर महानगरपालिका वडा नंं २२ मा पर्ने पटिहानी क्षेत्र चितवनको सौराहापछि धेरै पर्यटक आउने स्थान हो ।
कार्यालयको उद्घाटन पछि प्रहरी महानिरीक्षक खनालले यहाँ आउने पर्यटकले आफूलाई सुरक्षाको अनुभती गर्ने बताउनु भयो । पर्यटन प्रहरीलाई पर्यटनमैत्री सेवा दिन निर्देशन दिनु भयो । कार्यालय स्थापनासँगै पर्यटन व्यवसायी, होटल व्यवसायी र सरोकारवाला पक्ष सबैले पर्यटनमैत्री सेवा दिनुपर्नेमा जोड दिनु भयो ।
यहाँ स्थापना भएको कार्यालयबाट पर्यटन सर्वसाधारण सबैले सुरक्षाको अनुभव गर्ने भन्दै आपराधिक कृयाकलाप गर्नेलाई कानुनको दायरामा ल्याउनको लागि आम समुदायले प्रहरीलाई सहयोग गर्न उहाले आनुरोध गर्नु भयो ।
उहाले चाँडै स्थानीय तहसँगको समन्वयमा कार्यालय र आसपासका पर्यटकीय क्षेत्रमा सिसि क्यामेरा समेत जडान गर्ने जानकारी दिनु भयो । नेपालमा घुम्न रमाउन आएको पर्यटकलाई स्वतन्त्र पूर्वक आफ्ना मनोरञ्जनका गतिविधि सञ्चालन गर्न दिनु पर्ने बताउनु भयो । उनीहरुका सुरक्षा हामीले गरे यो सन्देश विदेशसम्म फैलने भन्दै सुरक्षाको सवालमा कुनै कमी नआउने बताउनु भयो ।
वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले सरकारको भ्रमण वर्ष २०२० सफल पार्न प्रर्यटन प्रहरी कार्यालय स्थापनाले महत्वपुर्ण टेवा पु¥याउने बताउनु भयो । कार्यक्रममा प्रदेश नम्बर १, २ र ३ प्रहरी प्रमुख, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी जितेन्द्र अधिकारी, प्रहरी प्रमुख, पर्यटन व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
पर्यटकको सुरक्षालाई मध्यनजर गरी स्थापना गरिएको कार्यालयमा प्रहरी सहायक निरीक्षक दिपेन्द्र धितालको कमाण्डमा रहेका ६ जना प्रहरीले सेवा दिने छन् । ६ जनाको दरवन्दी भए पनि हाललाई भने ५ जनामात्रै रहने धितालले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट