विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका विजयी

काठमाडौं, ११ जेठ :

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका विजयी भएका छन् । इङ्ल्यान्ड र वेल्समा यही मे ३० देखि सुरु हुने विश्वकपको तयारीका लागि भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको हो ।

ब्रिस्टोलमा पाकिस्तानले दिएको २६३ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो । अफगानिस्तानको जितमा हाम्सतउल्लाह शहिदीले अविजित ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हजरतउल्लाह जाजईले ४९, मोहमद नाबीले ३४ तथा रहमत साहले ३२ रन बनाए । पाकिस्तानका वहाब रियाजले ३ तथा इमाद वासिमले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४७ ओभर ५ बलमा अलआउट हुँदै २६२ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले ११२ रनको शतकीय इनिङ्स खेले ।

यस्तै सोयब मल्लिकले ४४ तथा इमाम उल हकले ३२ रन बनाए । अफगानिस्तानका मोहमद नाबीले ३ तथा राशिद खान र डलट जाड्रनले २/२ विकेट लिए । यस्तै कार्डिफमा भएको अर्को अभ्यास खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ८७ रनले पराजित गरेको छ । दक्षिण अफ्रिकाले दिएको ३३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ४२ ओभर २ बलमा २५१ रन जोड्दा अलआउट भयो । श्रीलंकाका लागि कप्तान दिमुथ करुनारत्नेले ८७ तथा एञ्जेलो म्याथ्युजले ६४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कुशल मेन्डिसले ३७ रन जोडे ।

श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका एन्डिले लक्कीले ४ विकेट लिए भने लुंगी नेग्दिले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर ३३८ रन जोडेको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लेसिसले ८८ तथा हसिम अमलाले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै भान डेर डुसेनले ४० तथा एन्डिले लक्कीले ३५ रन बनाए । श्रीलंकाका सुरंगा लकमाल र नुवान प्रदीपले २/२ विकेट लिए ।

शेयर गरौ

ताजा अपडेट