चितवन समाचार डटकम ,
१० जेठ । आन्तरिक राजश्व कार्यालय भरतपुरले दश महिनामा लक्ष्य भन्दा धेरै राजश्व संकलन गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको बैशाख महिनासम्म १०४.५४ प्रतिशत राजश्व संकलन गरेको हो । लक्ष्य सतप्रतिशत रहेकोमा बैशाख महिनासम्म ४ दशमलव ५४ प्रतिशत धेरै राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत सुबप्रसाद रिजालले जानकारी दिनु भयो । २२ अर्ब ९८ करोड ७३ लाख ४५ हजार लक्ष रहेकोमा त्यसलाई उछिन्दै २४ अर्ब २९ करोड ९८ लाख रुपियाँ संकलन गरेको हो ।
मुख्य कर अधिकृत रिजाल भन्नु भयो ‘लक्ष्य भन्दा धेरै राजश्व संकलन गर्न सफल भएका छौ, आउदो दुइ महिनामा पनि सफलता प्राप्त गर्न सकिने संकेत छ ।’ उठेको राजश्वमा सबैभन्दा धेरै पेय पदार्थको रहेको छ । जसमा मदिराजन्य पदार्थबाट राजश्व धेरै उठेको छ । कार्यालयले दिएको जानकारी अनुसार दश महिनामा अन्तशुल्कबाट २१ अर्ब १२ करोड ६३ लाख ३६ हजार रुपियाँ उठेको छ । यो लक्ष्य भन्दा ४.२१ प्रतिशतले बृद्धि हो प्रमुख कर अधिकृत रिजालले भन्नु भयो । अन्तशुल्कबाट विगतको दश महिनामा २० अर्ब २७ करोड २३ लाख रुपियाँ उठाउने लक्ष्य लिएको थियो ।
राजश्व उठेको रकम मध्य सबैभन्दा धेरै अन्तशुल्कबाट उठ्ने गरेको छ । यो रकम मदिरा, कोल्ड ड्रिङसलगायतबाट उठेको कर हो । राजश्व कार्यालय भरतपुरमा चितवन र पूर्वी नवलपरासी जिल्लाको राजश्व संकलन हुने गरेको छ । मुल्य अभिवृद्धि करबाट एक अर्ब १२ करोड १२ लाख कर उठेको छ । लक्ष्य एक अर्व ९ करोड रहेको थियो । आम्दानी कर इनकम टयाक्सबाट एक अर्ब ६० करोड रहेको छ । यो पनि लक्ष्य भन्दा ३.८७ प्रतिशतले बृद्धि भएको हो ।
कार्यालयको जेठ महिनामा ३ अर्ब रुपियाँ राजश्व उठाउने लक्ष्य रहेको छ । जेठको ९ गतेसम्म एक अर्व ७७ करोड राजश्व उठिसकेको छ । विहीबारमात्रै २९ करोड रुपियाँ राजश्व उठेको थियो । कर तिर्नको लागि करदाताहरुलाई सचेतना जगाउने काम भइराखेको रिजालले बताउनु भयो ।


