काठमाण्डौ, ९ जेठ :
आन्तरिक बैठक बस्न नसक्दा समाजवादी पार्टी नेपालले सरकारबारे निर्णय लिन सकेको छैन ।
तात्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता भएको तीन साता हुन लाग्दा समेत सरकारमा बसिरहने वा छाड्ने भन्ने निर्णयमा पार्टी पुग्न नसकेको नेताहरुले बताएका छन् । एकीकरणको सन्देश दिन भन्दै समाजवादी पार्टी नेपालले पर्सि शनिबारबाट जेठ २१ गतेसम्म मुलुकका विभिन्न ८ शहरमा सभा गर्ने भएपछि सो अगाडि आन्तरिक निर्णयको सम्भावना नरहेको नेताहरुको भनाई छ ।
एकीकरण लगत्तै केन्द्रीय समिति बैठक र सभाबारे निर्णय गर्न केन्द्रीय कार्यकारिणी बैठक बसेको थियो ।
सरकारमा पार्टीको नेतृत्व गरेका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विगतका सहमति कार्यान्वयनका लागि सरकारलाई अल्टिमेटम दिंदै माग सम्बोधन नभए मात्र सरकार छाड्नु पर्ने पक्षमा हुनुहुन्छ भने संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई तत्काल सरकार छाडेर संगठन लगायत काममा जुट्नु पर्ने पक्षमा हुनुहुन्छ ।
अध्यक्ष यादव भोलिमात्र स्वदेश फर्कने बताउँदै वरिष्ठ नेता अशोक राईले पर्सि शनिबारबाट २१ गतेसम्म मुलुकका विभिन्न कार्यक्रममा व्यस्त हुने भएकाले जेठको अन्तिम साता अघि बैठकको सम्भावना नभएको बताउनुभयो । सरकारले जेठ १५ गते बजेट ल्याउने र सो माथिको छलफलमा समेत व्यस्त हुनु पर्ने भएपछि समाजवादी पार्टी नेपालको सिंहदरवार यात्रा लामो चल्ने अनुमान विश्लेषकहरुको छ ।
एकीकरण प्रति असन्तुष्टि जनाउँदै तात्कालीन फोरम नेपाल र नयाँ शक्तिका नेताहरुले समाजवार्दी पार्टी छाड्ने क्रम पनि जारी छ ।


