चितवन समाचार डटकम,
३ जेठ । नेकपाले लिएको समृद्धिको लक्ष्यमा पुगे मदन अश्रितको सच्चा श्रद्धाञ्जली हुनेमा नेताहरुले बताउनु भएको छ ।
तात्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रित दुर्घटना भएको स्थान चितवनको दासढुङगामा शुक्रबार भएको स्मृति कार्यक्रममा नेताहरुले यस्तो बताउनु भएको हो । पार्टीको दुरदर्शी नेता भण्डारीले लिनु भएको उद्देश्य महान भएकाले उहाँको सपना पूरा गर्ने दायित्व नेकपामा रहेकोमा जोड दिएको थियो ।

भरतपुरको पार्टी कार्यालयबाट ¥याली सहित दुर्घटना भएको स्थान दासढुङगामा रहेका शालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा पार्टीका पूर्व पोलिट व्युरो सदस्य काशीनाथ अधिकारीले युगले जन्माएको नेता भण्डारीले लिएको सपना पूरा गर्नु नेकपाको दायित्व भएको बताउनु भयो । जनताको जीवन र देशको प्रगतीको विषयमा लिनु भएको सपना अहिलेपनि सान्दर्भिक भएको भन्दै उहाकै सिद्धान्तले पार्टी यहाँसम्म आएको बताउनु भयो । भण्डारीले देखाएको बाटोबाटै समाजवाद तर्फ जान सकिने भन्दै उहाँको सपना अनुसारनै हामी समाजवादमा जान सकिने बताउनु भयो ।

भण्डारीको हत्यारा पत्ता लाग्न नसक्नु कमजोरी भएको भन्दै अधिकारीले भन्नु भयो ‘सामान्य नेताले अहिलेको समस्या र अवसर देख्दछन्, तर भण्डारीले सयौ वर्षपछिको अवस्था देख्नु भएको थियो ।’ युगले विरलै भण्डारी जस्ता नेता जन्माउने भएकाले उहाले दिनु भएको सन्देश र सपना हाम्रा लागि सदै ताजा भइरहने बताउनु भयो ।
नेकपाका केन्द्रीय सदस्य कृष्ण खनालले फुटेर होइन जुटेर विकास गर्न सकिन्छ भन्ने उदेश्य भण्डारीको भएकोमा अहिले पुरा हुदै गएको बताउनु भयो । कम्युनिष्ट पार्टी एकीकरण हुदै देशलाई समृद्धिको बाटोमा अगाडि बढेकाले भण्डारीको सपना पूरा गर्न तर्फ सरकार लागेको बताउनु भयो । प्रदेश नंं ३ का कृषि तथा सहकारी मन्त्री दावा लामा, नेकपाका नेता धनश्याम दाहाललगायतले भण्डारीको दुरदर्शी सोच र क्षमताको प्रशंसा गर्नु भएको थियो । उहाँले देख्नु भएको सपना अहिलेको सरकारले पुरा गर्दै जानेमा विश्वास व्यक्त गर्नु भयो ।

नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय नेताले दिनु भएको मार्गनिर्देशन अनुसार नै पार्टी यहाँसम्म आएको बताउनु भयो । समाजवादको सपना पूरा गर्न पार्टीले काम गर्ने जानकारी दिनु भयो । कार्यक्रममा सचिव कृष्णभक्त पोखरेलले अन्तरराष्ट्रिय स्तरमा चर्चित नेता भण्डारीको सिद्धान्त पार्टीको लागि महत्वपूर्ण भएको बताउनु भयो । चितवन, गोरखा, तनहु, नवलपरासीलगायतका जिल्लाबाट सयौ पार्टी कार्यकर्ताको उपस्थिति रहेको थियो ।
पोखरामा भएको कार्यक्रम सकेर चितवन आउदा वि.सं.२०५० जेठ ३ गते मुग्लिन नारायणगढ सडकखण्डको दासढुङगाबाट मदन आश्रित चढेको जीप त्रिशुली नदीमा खसेको थियो । सोही दुर्घटनामा उहाँहरुको निधन भएको थियो ।




