नेकपा अध्यक्ष सचिवको पदभार ग्रहण ः एक ढिक्का भएर पार्टी अगाडि बढाउने प्रतिवद्धता

चितवन ३ जेठ । नेकपा चितवनको अध्यक्ष र सचिवले आफ्नो पदभार शुक्रबार ग्रहण गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नव अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले पदभार ग्रहण गर्नु भएको हो ।
एमाले, माओवादी पार्टी एकीकरण भएपछि जिल्लामा अध्यक्ष र सचिवको जिम्मेवारी तोकिएपछि शुक्रबार पार्टी कार्यालयमा कार्यक्रम गरी आफ्नो पदभार ग्रहण गर्नु भएको हो । तत्कालिन एमाले पार्टी कार्यालय मदननगरमा भएको कार्यक्रममा पत्रकारसंग कुरा गर्दै अध्यक्ष यमबहादुर परियारले पार्टी नयाँ उचाइमा पुगेकाले एक ढिक्का भएर लैजान आफू तयार भएको बताउनु भयो ।
पार्टीको नीति तथा सिद्धान्त वमोजिम आफूले काम गर्ने भन्दै पार्टीका सबै कार्यकर्तालाई पार्टीको काममा लाग्न निर्देशन दिनु भयो । जनताको अधिकार स्थापित गर्नको लागि पार्टी एकढिक्का भएर लाग्ने उहाको भनाइ थियो ।
पदभार ग्रहणपछि नेकपाका जिल्ला सचिव कृष्णभक्त पोखरेलले पार्टीको एकीकरणको प्रकृया टुंगो लागेसंगै अब गतिविधिले तिब्रता पाउने बताउनु भयो । नयाँ जोश जाँगर र उत्साहका साथ पार्टीको काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उहाले पार्टीका सबै साथीहरुलाई पार्टीको निर्देशन अनुसार काम गर्न निर्देशन दिनु भयो । नेता तथा कार्यकर्तालाई साथ लिएर आफूले पार्टीको काम गर्ने प्रतिज्ञा गर्नु भयो ।
पदभार ग्रहण कार्यक्रममा नेकपाका केन्द्रीय नेता काशिनाथ अधिकारीले एकीकरणपछि जिल्लामा बनेको जिम्मेवारीले पार्टी कार्यकर्ता माझ थप उर्जा पैदा भएको बताउनु भयो । जिम्मेवारी पाउने नेताहरुले जिल्लाको पार्टी गतिविधि उच्च मनोवलका साथ काम गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, देवी ज्ञवाली, रेनु दाहाल, पार्वती रावल लगाएतका नेताले अविर फूलमाला लगाई शुभकामना दिनु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट