काठमाडौँ, २ जेठ :
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटनका अवसरमा उहाँले कुनै पनि राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान हुने र राष्ट्र निर्माणमा पनि यिनै पक्षको बलशाली भूमिका रहने चर्चा गर्नुभयो ।
उहाँले आपसी सम्पर्क र समन्वयका साथै प्रतिष्ठानले समय सान्दर्भिक कार्यक्रम गरेर कला जगत्को विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएकाले यस क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । (रासस)


