काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा सांसद बालकृष्ण खाँणले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक संविधानको मर्म र भावना विपरीत रहेकोले फिर्ता लैजान आग्रह गरेका छन् ।
मंगलबार सदनमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता नलिए नेपाली कांग्रेस चुप लागेर नबस्ने बताए । ‘संविधानमा प्रेस स्वतन्त्रता सुनिश्चित छ । तर विधेयक बनाउँदा मौलिक अधिकार कुण्ठित गराउने कानुन ल्याउन खोज्ने ?,’ खाँणले प्रश्न गरे ।
सदनमा गत बिहीबार सरकारले दर्ता गरेको मिडिया काउन्सिल विधेयक सरकारले फिर्ता लिनुपर्ने उनले बताए । ‘फर्काएर लैजानुस् विधेयक,’ उनले भने ।
सरोकारवाला पक्षसँग छलफल र सहमति नगरी विधेयक सदनमा दर्ता गरेको भन्दै कांग्रेसले विधेयक फिर्ता लिन माग गरेको हो । मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने भन्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन पनि आन्दोलनमा छ ।


