सवाल वन्यजन्तु सुरक्षाको ः नेपालमा छैन राजमार्ग पार गर्ने उपयुक्त पुल

शालिग्राम नेपाल,

चितवन २८ बैशाख । सवारी साधनको ठक्करबाट वन्यजन्तु मारिनेक्रम बढेपछि सुरक्षाको विषयमा चासो बढेको छ । संरक्षित क्षेत्र भएर राजमार्ग निर्माण हुदा वन्यजन्तु सवारी साधनको ठक्करबाट मर्न थालेपछि सुरक्षामा चासो वढेको हो ।

उनीहरुको लागि अलगै पास हुने मार्ग निर्माण हुन नसक्दा जोखिम मोलेर सडक पार गर्दा मारिने क्रम बढेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरे बताउनु हुन्छ । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको गतिविधि बढ्ने गर्दछ ।

तर यही स्थानका ठुला राजमार्गमा हजारौ सवारी साधन गुड्दा ठक्करबाट जनावरहरु मारिन थालेका छन् । निकञ्जको तथ्याँङक अनुसार गएको दुइ वर्षमा १० वटा जनावर सवारी साधनको ठक्करबाट मरेका छन् । सूचना अधिकारी घिमिरेले भन्नु भयो ‘तीन वटा ठुला राजमार्ग यही निकुञ्जको नजिक छन् त्यसैले जोखिम बढेको हो ।’ यो विवरण प्राप्त तथ्याङकको हो, विवरण नआएको धेरै छन् उहाले भन्नु भयो ।

ठुला लगानीमा सडक निर्माण हुन्छ तर वन्यजन्तुलाई वारपार गर्ने मार्ग बनाइदैन, त्यसैले हरेक वर्ष सवारी साधनको ठक्कारबाट वन्य जन्तु मर्दछ । चितवनको भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिका जोड्ने टिकौली जंगल वन्यजन्तुको करिडोर हो । यो राजमार्गमा गैडा, हात्ती, बाघ लगायतका वन्यजन्तु वारपार गर्दछन् । तर यहाँ जनावर वारपार गर्ने मार्ग छैन ।

सडकको माथिबाट पुल वा सडकको तलबाट हिड्ने मार्ग वनाइनु पर्दछ सूचना अधिकारी घिमिरे बताउनु हुन्छ । भरतपुरबाट माडी जाने सडक अझ धेरै वन्यजन्तु वारपार गर्ने स्थान हो । यहाँ कालोपत्रे गर्ने प्रयास भइराखेको छ, तर वन्यजन्तुको लागि पार हुने कुनै मार्ग बनाउने वहस चलेको छैन ।

नारायणगढ मुग्लिन सडकको रामनगर जुगेडी क्षेत्रमा दुइ स्थानमा वन्यजन्तु पार गर्ने पुल निर्माण गरिएको छ । तर यो साघुरो भएकाले जनावर मैत्री नभएको संरक्षणकर्मी तथा चितवन निकुञ्जका पूर्व संरक्षण अधिकृत रामप्रित यादव बताउनु हुन्छ । मुग्लिन नारायणगढ क्षेत्रमा बनाएको पास मार्ग १० मिटर फराकिलो छ यो उपयुक्त होइन वन्य जन्तु विज्ञ डाक्टर सुशीला नेपाली बताउनु हुन्छ ।

अन्र्तरराष्ट्रिय मापदण्ड अनुसार कम्तीमा एकसय मिटर फराकिलो पास मार्ग बनाउनु पर्दछ । यस्तो अभ्यास बाहिरी मुलुकमा हुने गरेको छ तर नेपालमा छैन उहाले भन्नु भयो । पूर्व पश्चिम राजमार्ग र संरक्षित क्षेत्रबाट निर्माण हुने सडकमा वन्यजन्तु मैत्री पास मार्ग बनाउनु पर्ने डाक्टर नेपालीको भनाइ छ ।

वर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेश थापा भन्नु हुन्छ सन् २०१७ मा मात्रै यस क्षेत्रमा १२६ वटा जनावर सवारी साधनको ठक्करबाट मरेका छन् । हेर्दा जनावर मरेको लाग्ला तर संरक्षणको आँखाले हेर्दा यो ज्यादै दुःखको विषय हो उहाले भन्नु भयो । अब बन्ने सडक निर्माणमा वन्य जन्तुहरु ओहोर दोहोर गर्ने स्थानमा पास मार्ग वनाउनु जरुरी छ । तत्कालको लागि राजमार्गमा जनावरको संकेत राखेर सचेत पार्नु पर्दछ । टाइम कार्ड बनाएर साधनको गती नियन्त्रण गर्न लगाउनु पर्ने उहाँको भनाइ छ ।

नारायणगढ वुटवल सडक चारलेनको बन्दै गरेकाले यहाँ वन्यजन्तु वारपार गर्ने पुल निर्माण गर्न सुझाव दिएको तराइ भूपरिधी कार्यक्रमका प्रवन्धक कमलराज राइ बताउनु हुन्छ । यो सडकको १० स्थानमा जनावर पास हुने पुल निर्माण गर्नको लागि नेपाल सरकारलाई जानकारी गराएको उहाले जानकारी दिनु भयो ।

सवारी साधनको ठक्करबाट वन्य जन्तु मारेमा जरिवाना र कैदको व्यवस्था कानुनले गरेको छ । निकुञ्जका अनुसार हात्ती, गैडा, बाघ मारेमा ५ देखि १५ वर्ष कैद र ५ देखि १० लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । अन्य जनावरको हकमा एक वर्ष कैद र ५० हजार जरिवाना रहेको छ । नियतवस नभइ दुर्घटनामा परेर मरेको हुनाले सजायमा केही लचकता हुन सक्ने निकुञ्जको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट