आत्महत्या प्रयास गरेका घिसिङको उपचारको क्रममा मृत्यु

चितवन, २८ बैशाख । इलाका प्रहरी कार्यालय रत्ननगरको थुनुवा कक्षमा आत्महत्याको प्रयास गरेका समिर घिसिङको उपचारका क्रममा राति मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घिसिङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा शुक्रबार राति ११ बजे मृत्यु भएको हो ।
चोरीको अभियोगमा वैशाख २५ गते पक्राउ परेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय घिसिङले २६ गते दिउँसो थुनुवा कक्षमा रहेको शौचालयमा नै आत्महत्याको प्रयास गरेका थिए । झुण्डिन लागेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारको लागि भरतपुर ल्याएको थियो ।
घिसिङले आत्महत्याको प्रयास गरेसँगै प्रहरीको कमजोरीका कारण घटना भएको भन्दै बिहीबार राति आफन्त र स्थानीयवासीले इलाका प्रहरी कार्यालय र प्रहरी चौकी पदमपुरमा तोडफोड गरेका थिए । स्थानीय र प्रहरीको केही समय झडपसमेत भएको थियो ।

शेयर गरौ

ताजा अपडेट