प्रधानमन्त्रीको भाषा प्रति काँग्रेसको आपत्ती, संसदमा चल्यो हंगामा

काठमाडौं, २४ बैशाख । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा संसदमा हंगामा मच्चिएको छ ।

प्रधानमन्त्री केपी ओलीले प्रयोग गरेको शब्दवलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा बैठकमा अवरोधको प्रयास गरेका थिए । सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले प्रष्टिकरण दिने क्रममा आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी प्रश्नहरुको उत्तर दिन्छु भनेपछि कांग्रेस सांसदहरुले विरोध जनाएका हुन् ।

प्रधानमन्त्रीको शब्दावलीप्रति पहिले कांग्रेस सांसद मिन विश्वकर्माले विरोध गर्नु भयोे । सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बताउनु भयो । त्यसपछि कांग्रेसका अन्य सांसदहरु उठेर विरोध जनाएका थिए । बीचमा प्रधानमन्त्री ओलीले आफूले सांसदको प्रष्टिकरण दिन उभिएको भन्नु भएको थियो । सभामुख महराले प्रधानमन्त्रीको प्रष्टिकरण सुनिदिन पटक–पटक आग्रह गर्नु भयो । त्यसपछि पनि कांग्रेस सांसदहरु संसदीय मर्यादा पालना गर्न माग गर्दै बस्न नमानेपछि प्रधानमन्त्रीले छोटोमा जवाफ दिएर विदा लिनु भएको थियो ।

प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम माथिको छलफल सकिएको सभामुख महराले घोषणा गर्नु भयोे । लगत्तै सभामुखले प्रक्रिया अगाडि बढाउनु भयो । नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट