धनुषा २४ बैशाख । धनुषामा एक नाबालकको अपहरणपछि निर्मम हत्या गरिएको छ ।
यहाँको मिथिला नगरपालिकामा साढे दुई वर्षीय नाबालक आर्यन साहको हत्या भएको हो । स्थानीय शम्भु साहका छोरा आर्यन सोमबार साँझदेख बेपत्ता भएकोमा आज विहान उनको शव फेला परेको हो
मिथिला नगरपालिका–६ ढल्केवरबाट बेपत्ता आर्यनको शव घर नजिकैको बारीमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । उनले भने, ‘आर्यनको शव शवको प्रकृति निकै दर्दनाक देखिन्छ ।
आधा घाँटी काटेको अवस्थामा शव फेला परको छ,’ प्रहरी निरीक्षक राईले भने ।
सोमबार साँझ घरमै खेलिरहेको बेला परिवारका सदस्यले बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए । त्यही बीचमै आर्यन बेपत्ता भएका थिए । बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी शुरु गरेका थिए । पछि बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केवरलाई
समेत दिइएको थियो ।
बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या भएको पाइएपछि अपहरण गरेर हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । अपहरणपश्चात हत्या किन र कसले ग¥यो भन्ने केही खुल्न सकेको छैन ।


