पानीको मुहान सुकाउने मनकामना कंक्रिट दर्ताविहीन, मात्र एकलाख रुपैयाँ सम्म जरिवानाको कानुनी ब्यवस्था

चितवन समाचारडटकम, २२ वैशाख ।
नजिकै रहेको खानेपानीको मुहाननै सुक्ने गरी कालिका नगरपालिका वडा नम्वर ८ मा स्थापना गरिएको मनकामना कंक्रिट उद्योग दर्ता नै नरहेको खुलेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका प्रमुख रमेश कर्माचार्यले सो उद्योग दर्ता नरहेको जानकारी दिनुभयो ।
“कालिका नगरपालिकामा रहेको भनिएको मनकामना कंक्रिट उद्योग दर्ता छैन, दर्ता नभएको उद्योगलाई औद्योगीक ब्यवसाय ऐन–२०७३ बमोजिम कार्वाही हुन्छ” कर्माचार्यले भन्नुभयो ।
सो क्रंकिट उद्योगका सञ्चालक मध्येका एक राजु अमगाईले पनि उद्योग दर्ता भईनसेकेको तर प्रक्रियामा रहेको बताउनुभयो । पाँच करोडका लागतमा उद्योग स्थापना भएको अमगाईको भनाई छ ।
पाँच करोड सम्मको लागतमा स्थापना हुने उद्योगलाई घरेलु तथा साना उद्योगका रुपमा वर्गिकरण गरिएको कार्यालय प्रमुख कर्माचार्यले बताउनुभयो ।

ऐनको परिच्छेद–८ मा रहेको सजाय र पुनरावेदन सम्वन्धि ब्यवस्थाको महलमा दफा ४१ को उपदफा ३ को ख मा घरेलु तथा साना उद्योग स्तर भए पच्चीस हजार देखि एक लाख रुपैयाँ सम्म जरिवाना हुने उल्लेख छ ।
तर, यसकालागी प्रक्रिया लामो देखिन्छ । साथै दफा ४१ को उपदफा १ मा कसैले दर्ता विना उद्योग चलाएमा जिल्लाको घरेलु उद्योग कार्यालयले निरिक्षण गरि सो को प्रतिवेदन सम्वन्धित बिभाग मार्फत उद्योग मन्त्रालयमा पठाउनुपर्नेछ । उपदफा २ मा मन्त्रालयले सो उद्योग दर्ताको लागी तीन महिना सम्मको समय दिन सक्ने उल्लेख छ ।
यसैबिच


जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण डल्लाकोटीको नेतृत्वमा आज गएको टोलीले सो कंक्रिट उद्योगको स्थलगत अवलोकन गरेको छ ।
सो क्रममा प्रमुख डल्लाकोटीले पानीको मुहानकै छेउमा उद्योग चलाउन नपाईने भन्दै स्थानीय जनता खानेपानीवाट वन्चित हुन परेकोमा जिल्ला समन्वय समितिको गम्भिर ध्यानकर्षण भएको बताउनुभयो । “कार्यविधि मिचेर कुनै पनि उद्योग सञ्चालन गर्न पाईदैन, हाललाई यहाँको काम रोक्नुहोला ” उद्योग सञ्चालकलाई निर्देशन दिदैं डल्लाकोटीले भन्नुभयो ।


उद्योगले उत्पादन पुर्व अहिले करिव ६ सय ट्रिपर ग्राबेल डम्पिङ गरेको छ ।
कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले तत्काल वोरिङमार्फत खानेपानी ब्यवस्थापन गर्न उद्योग सञ्चालकहरुलाई निर्देशन दिइएको बताउदैं यस उद्योगको सञ्चालनका बिषयमा आवश्यक छलफल गरी निर्णय लिईने जानकारी दिनुभयो ।

अनुगमन टोलीमा सहभागी नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले खानेपानीको मुहान सुक्ने गरी उद्योग सञ्चालन गर्नु दुखद भएको बताउनुभयो । श्रेष्ठले स्थानीय जनतालाई तत्काल खानेपानीको ब्यवस्थापन हुनुपर्ने बताउनुभयो ।

जुटपानी बजार नजिकै खानेपानीको मुहान नजिक कंक्रिट उद्योग खुल्दा खानेपानीको हाहाकार भएको हो । मुहान सुकेपछि कालिका नगरपालिका–६ मा करिव ७ सय घरधुरीमा खानेपानीको संकट भएको छ ।
उद्योगमा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी सहित ५ जनाको लगानी रहेको जनाइएको छ ।

शेयर गरौ

ताजा अपडेट