नवलपरासीमा दाउराले हानेर आफ्नै बाबुको हत्या

परासी, २२ बैशाख । पश्चिम नवलपरासीमा  दाउराले हानेर एक युवकले आफ्नो बाबुको हत्या गरेका छन् ।

सरावल गाउँपालिका–२, दंगिया बस्ने २२ वर्षीय जब्बर मुसलमानले शुक्रबार राति ४५ वर्षीया बाबु अलाउद्दिनलाई सुतिरहेका बेला चिर्पट प्रहार गरेका थिए । जब्बरको मानसिक सन्तुलन ठीक नभएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । चिर्पट प्रहारबाट अलाउद्दिनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

मानसिक सन्तुलन बिग्रे पनि बाबुले हरेक दिन छोरासँग झगडा गर्ने गरेको स्थानीयले बताएका छन् । त्यस दिन पनि झगडा भएपछि अलाउद्दिन सुत्न गएका थिए । आक्रोशमा रहेका जब्बरले एक्कासी सुतिरहेको कोठामा गएर चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको हो ।

हत्या भएको जानकारी पाएर प्रहरी जाँदा अभियुक्त जब्बर घरमै टोलाएर बसेका थिए । उनलाई आवश्यक अनुसन्धानसहित कार्बाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन् ।

शेयर गरौ

ताजा अपडेट