काठमाडौं, २१ वैशाख :
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गरेको भन्दै व्यापक आलोचना भएपछि त्यस विषयमा प्रधानमन्त्री केपी शर्माले ओलीले स्पष्टीकरण दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग अन्तरक्रियाको क्रममा स्पष्टीकरण दिएका हुन् । शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति भण्डारीले मेरो सरकार भन्ने शब्द प्रयोग गरेपछि राजाकै झल्को दिएको भन्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।
त्यस विषयमा शनिबार बिहान सम्पादकहरूसँगको अन्तरक्रियमा प्रधानमन्त्री ओलीले यसो भनेः मैले मेरो देश भन्छु, तपाईँको अरुको होइन भनेको हो र ? मेरो मात्र हो र राष्ट्रिय गान मेरो राष्ट्रिय गौरव भन्छु । मेरो भन्ने कुराको सामूहिक अर्थमा बुझ्ने प्रयास हो ।
राष्ट्रप्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै हो । त्यसैले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो ।
यो अन्तर्राष्ट्रिय प्रचलन पनि हो । आलोचना गर्नेलाई यसअघिका राष्ट्रपतिको सम्बोधन युट्युबमा हेर्न सुझाव दिएका छन् ।


