काठमाडौं, १७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारलाई कमजोर बनाउन पार्टी महासचिव विष्णु पौडेलमाथि आक्रमण भएको बताउनु भयको छ ।
बालुवाटार जग्गा प्रकरणमा महासचिव पौडेल माथि आक्रमण भइरहेको भन्दै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले महासचिव पौडेलमाथि गलत लान्छना लगाउने काम भएको बताउनु भयो ।
नेकपाको संसदीय दलको बैठकमा मंगलबार बोलेका अध्यक्ष ओलीले महासचिव पौडेलले राजाको शासनका बेला किनिएको जमिन पदीय दुरुपयोग गरेर किनेको भन्नु गलत हुने बताउनु भयो ।
’बालुवाटार प्रकरणमा महासचिवको कुनै संलग्नता छैन । पार्टीलाई कमजोर बनाउन विष्णु पौडेललाई प्रहार गरिएको छ । यसबाट विचलित हुन जरुरी छैन । बालुवाटार प्रकरणका दोषी उम्कन दिन्न ।’
प्रधानमन्त्री ओलीले सार्वजनिक जग्गा मिच्न नदिने र सरकारको नाममा फिर्ता गर्ने बताउनु भयो । ‘जहाँसुकै हडपिएको जग्गा सरकारले फिर्ता ल्याउँछ,’ उहाले भन्नु भयो, ‘कसलाई नाफा हुन्छ या कसलाई नोक्सान हुन्छ केही हेरिँदैन। सरकारले सत्यत्थ्य बाहिर ल्याउँछ ।’ प्रधानमन्त्री ओलीले ह्यात होटलको जग्गा पनि सरकारले फिर्ता ल्याउने बताउनु भयो ।


