२१ पुस्ता देखि मनकामना मन्दिरमा मगर जातीका पुजारी

बैशाख १५ –
एक्काइसौँँ पुस्तासम्म कुनै मन्दिरको मूल पुजारी हुँदै आएको सुन्दा अचम्म लाग्ला तर गोर्खाको मनकामना मन्दिरमा एउटै परिवारको २१ औँ पुस्ताले मूल पुजारीका रुपमा अहिलेसम्म काम गरिरहेको छन् ।मन्दिरका मूल पुजारी इन्सानबहादुर थापामगरले आफू २१ औँ पुस्ताका रुपमा मगर पुजारी बनेको बताउनुभयो । उहाँको भनाइमा राजाराम शाहका रानीको नामबाट मनकामना मन्दिर रहेको हो । राजपरिवारमा सुसारेको रुपमा रहनुभएका लखन थापामगरका पालादेखि यस मन्दिरमा इन्सानका पुस्ताले मुख्य पुजारीको रुपमा काम गर्दै आएका हुन् । उहाँले भन्नुभयो, “यसको स्थापना कालदेखि नै मगर समुदाय मूल पुजारी हुँदै आएको २१ औँ पुस्ता पुग्यो ।

मेरा बुबा लोकबहादुर र बाजे प्रेमबहादु पनि यहाँकै पुजारी हुनुहुन्थ्यो ।” लखन थापामगर राज परिवारको सुसारे हुँदै गर्दा राजाको निधनपछि रानी सति जाने समयमा उहाँलाई म तिमीलाई फेरि मेरो सेवा गर्ने मौका दिने छु भनी सति गएको र पछि खेत जोत्दा शिला भेटिएपछि मन्दिर स्थापना गरी पूजा गर्न लागिएको उहाँले बताउनुभयो ।अहिले मनकामना मन्दिरमा सोही वंशजको जेठो छोराले मूल पुजारीको नेतृत्व सम्हाल्दै आएको छ । आफूले विसं २०२६ मा १० वर्षको उमेरदेखि पुजारीका रुपमा काम गर्दै आएकामा त्यसको १४ वर्षपछि मूल पुजारीको भूमिका निर्बाह गरेकोे इन्सानले बताउनुभयो । काकाले बाबुको शेषपछि आफू मूल पुजारी हुनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरे पनि आफ्नै पक्षमा फैसला भएपछि आफूले मूल पुजारीको रुपमा २०४० सालदेखि काम गरिरहेको र आफ्नो जेठो छोरा निसानले अहिले पुजारीको काम सिकिरहेको उहाँले बताउनुभयो ।

सन्तानमा जेठो छोरा नभएर छोरी भएमा भाइमा मूल पुजारीको जिम्मेवारी सर्ने इन्सानको भनाइ थियो । मन्दिरमा मूल पुजारीसहित पाँच पुजारीले काम गर्दै आएका छन् । शहीद लखन गाउँपालिका–२ मा पर्ने सो मन्दिर स्थापनाकालदेखि नै पुजारीका रुपमा रहेका मगर समुदायका साथै हरेक पर्वमा मन्दिरमा हुने पुजामा काठमाडौँबाट तान्त्रिक गुरुहरुसमेत आउने गरेका छन् । अहिले मन्दिरमा रहेका पुजारीमध्ये एक बह्माण समुदायको र अन्य पुजारी मगरकै घर परिवारका सदस्य छन् । त्यहाँ उठेको भेटीले यी सबै खर्च पु¥याउनु पर्ने इन्सानले बताउनुभयो । मनकामना देवीको शक्ति अजिवको रहेको चर्चा गर्दै उहाँले देशमा भएका महत्वपूर्ण घटनामा कुनै न कुनै रूपमा अग्रिम सङ्केत मिल्ने र दरबार हत्या काण्ड, विनाशकारी भूकम्पजस्ता घटनामा आफूले पहिले नै सङ्केत पाएको जानकारी दिनुभयो मनकामना केबुलकार बन्ने विषयमा पनि पहिले नै सङ्केत मिलेको इन्सानको भनाइ थियो ।

मूल पुजारी मगरका अनुसार उनीहरु नियमित चोखो भएर पूजामा बस्नुपर्ने घर परिवारमा जुठो पर्दा कुटुम्बले यो काम हेर्ने गरेको र ठूलाठूला पूजाआजामा मदिरा नभई नहुने भएकाले प्रसादका रुपमा खाए पनि अन्य पूजामा भने प्रयोग नगर्ने गरेको उहाँले बताउनुभयो । पहिलेको तुलनामा अहिले भक्तजनको चाप बढ्दै गएको छ । मङ्सिर, पुस, माघ र फागुन महीनाको, शनिबार, सोमबार, मङ्गलबार र शुक्रबार भक्तजनको भीड लाग्ने गरेकामा अहिले जुनसुकै बार पनि भक्तजनको घुइँचो हुने मूल पुजारी इन्सानले बताउनुभयो । रासस

शेयर गरौ

ताजा अपडेट