चितवन समाचार डटकम
चितवन १४ बैशाख । यो वर्षको सुरुवातमा नै गर्मी वढेको छ । मौसममा आएको परिवर्तनले बेलाबेलामा पानी परेपनि अहिले गर्मी बवढेको छ ।
यो वर्षको सुरुवातमा नै उच्च तापक्रम मापन गरिएको छ । पश्चिम नेपालको नेपालगञ्ज र धनगढीमा सबै भन्दा धेरै गर्मी भएको छ । चितवनमा भने पश्चिम नेपालको तुलनामा कम तापक्रम मापन गरिएको छ । पश्चिमका दुइ शहरमा ४१ डिग्री तापक्रम मापन गरिएको छ । मौसम पूर्वअनुमान महाशाखाले धनगढीको तापक्रम ४१ दशमलव ५ डिग्री र नेपालगञ्जको ४१ डिग्री मापन गरिएको छ ।
यसअघि गएको यही वैशाख २ गते ३९ दशमलव २ सेल्सियस मापन गरिएको नेपालगञ्जको तापक्रम त्यसयता घटेको थियो । तर शुक्रबार यो वर्षकै उच्च ४१ डिग्री पुगेको हो । चितवनमा भने शुक्रबार ३५ दशमलव १ डिग्री मापन गरिएको थियो । यो भरतपुर विमान स्थलले मापन गरेको तापक्रम हो । तर गुगलले भने चितवनको तापक्रम यो भन्दा धेरै देखाउछ । तापक्रम मापन प्रविधि राम्रो भएकाले यसलाई आधिकारिता मान्न सकिने भरतपुर विमान स्थलका सूचना अधिकारी दिपक विकले जानकारी दिनु भयो ।
गुगलका अनुसार शनिबार विहानको तापक्रम ३१ डिग्री रहेको छ । आउदो एक हप्तासम्म गुगलले चितवनको तापक्रम ३७ डिग्री भन्दा माथि देखाएको छ । आउदो विहीबार सबै भन्दा धेरै ४० डिग्री तापक्रम हुने अनुमान गरेको छ । विहीबार र शनिबार वर्षा हुने अनुमान गरेको छ । अहिले तत्काल पानी पर्ने अवस्था नरहेकाले चितवनसहित तराईका जिल्लाको तापक्रम अझै बढ्ने मौसमविद्ले बताएका छन् । गर्मी वढेसंगै विभिन्न सरुवा रोगको संक्रमण वढ्ने भएकाले स्वास्थ्यका विषयमा ध्यान दिन चिकित्सकहरुले सचेत पारेका छन् ।


