चितवन समाचारडटकम,
१२ बैशाख । नेपाल अण्डा उत्पादक संघले अण्डाको मुल्य एक्कासी घटाएको भन्दै किसानले संघको कार्यालयमा तोडफोड गरेका छन् ।
चैत्र महिनामा प्रतिगोटा १३ रुपियाँमा बिक्री हुदै आएको अण्डाको मुल्य घटाएर १० रुपियाँमा झारेको भन्दै अण्डा उत्पादक किसानले संघको अध्यक्ष बस्ने कुर्सी तोडफोड गरेका हुन् । संघले किसानको समस्या भन्दा व्यापारिको हितलाई मध्यनजर गरेर मुल्य घटाएको संघर्ष समितिका सदस्य गोविन्द शर्माले जानकारी दिनु भयो ।
पश्चिम चितवन अण्डा उत्पादक समुहले संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रेका थिए । विहीबार नारायणगढमा प्रदर्शन गरेको जुलुसले संघको कार्यालय न्युरोडमा रहेको कार्यालयमा पुगेर अध्यक्ष बस्ने कुर्सी तोडफोड गरेका हुन् । संघर्ष समितिका सदस्य शर्माले भन्नु भयो ‘किसानको हितमा काम गर्न नसक्ने अध्यक्षलाई कुर्सीमा बस्ने अधिकार नभएको भन्दै भाचेका छौ ।’ जुलुसले संघको कार्यालयमा तालाबन्दी समेत गरेको छ ।

अण्डाको मुल्य अस्वभाविक रुपमा घटाएपछि यस जनप्रतिनिधिलाई किसानले जानकारी गराएका थिए । हाम्रो समस्याको विषयमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पश्चिम चितवन अण्डा उत्पादक किसान समुहका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल अण्डा उत्पादक संघले अण्डाको बिक्री नभएको भन्दै देशभरी लागु हुने गरी मुल्य घटाएको थियो । संघका अध्यक्ष त्रिलोचन कडेलले भन्नु भयो ‘अण्डा बिक्री हुन छाडेपछि कुहिएर फाल्नु भन्दा मुल्य घटाएर बिक्री गर्दा कम नोक्सान हुने भएकाले घटाएका हौ ।’ संघको निर्णय नमान्ने केही ब्यक्तिले कुर्सी तोडफोड गर्नु भएछ यो कार्य राम्रो भएन उहाले भन्नु भयो । किसानले उत्पादन गरेको अण्डाले राम्रो मुल्य पाएको छैन यो हामीलाई थाहा छ तर सबै फाल्नु भन्दा केही कम मुल्यमा बिक्री गर्दा नै उपयुक्त हुने छ ।
संघर्ष समितिका सदस्य शर्माले भन्नु भयो संघमा आवद्ध भएका व्यक्तिनै सप्लायर्सको काम गर्ने भएकाले आफूलाई कम नाफा आएकाले मुल्य घटाएको आरोप लगाउनु भयो । किसानको हितमा संघले काम गर्न नसकेको उहाँको भनाइ ।
संघले बैशाख २ गत विज्ञप्ती प्रकासित गरी अण्डाको मुल्य घटाएको जानकारी गराएको थियो । संघका अनुसार नेपालमा हाल दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुने गरेको छ । वर्तमान बजार अवस्था अनुसार मुल्य घटाउदा दैनिक १ करोड, ९२ लाख रुपियाँ नोक्सानी सहनु परेको छ ।
कुखुरालाई आवश्यक पर्ने दानाको कच्चा पदार्थको मूल्य क्रमिक रुपमा बृद्धि हुदै जानु र उत्पादित अण्डा, चल्लाको मूल्यमा क्रमशः गिरावट आउनुले व्यवसायीहरुले ठुलो नोक्सानी व्यहोर्न परेको अध्यक्ष कडेलले जानकारी दिनु भयो ।
दानाको वर्तमान बजार मूल्यको अवस्था अनुसार प्रति गोटा अण्डा उत्पादन गर्न करिब रु.१०.५० लागत मूल्य परेको छ भने अण्डा उत्पादन गर्ने किसानहरुले प्रति गोटा रु.६.६६ पैसाको हाराहारीमा मूल्य पाएको अवस्थाले गर्दा प्रति गोटा रु.३.८४ पैसा नोक्सान सहनु परेको संघले जनाएको छ । वर्तमान बजार अवस्था अनुसार दैनिक १ करोड, ९२ लाख रुपियाँ नोक्सानी सहनु परेको छ ।


