क्रिकेट रंगशालालाई तत्काल ५० करोड आवश्यक्ता, हरेक जिल्लामा सहयोग समिति गठन गर्न धुर्मुसको अपील

चितवन समाचारडटकम, ८ बैशाख ।
धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले भरतपुरमा निर्माण थालिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि जिल्ला जिल्लामा सहयोग संकलन समिति बनाउन अपील गर्नुभएको छ ।
शिलान्यास अघिको पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै धुर्मुसले आगामी भदौ अघि ५० करोड रकम जुटाउनु पर्ने आवश्यक्ता रहेको उल्लेख गर्नुभयो ।
भरतपुर महानगरपालिकामा सम्पर्क कार्यलय स्थापना गर्न आज यहाँ आउनुभएका धुर्मुसले चितवन समाचारडटकम संग कुराकानी गर्दै हाल सम्म करिव ६ करोड रकम संकलन भएको जानकारी दिनुभयो । “अव हामी भदौ सम्ममा शिलान्यासको तयारीमा छौं त्यसका लागि न्युनतम पनि ५० करोड रुपैयाँ संकलन हुन जरुरत छ यती पैसा तत्काल जम्मा हुन सक्यो भने काम फटाफट अगाडी बढाउन सजिलो हुने थियो ”–धुर्मुसले भन्नुभयो ।
हरेक जिल्लामा सहयोग संकलन समिति बनाएर रकम संकलन गर्न उपयुक्त हुने बताउदैं उहाँले यसकार्यमा सहयोग गर्न सबैमा अपील गर्नुभएको छ ।
रंगशाला थाल्नु अघि फाउण्डेशन संग रहेको २ करोड ९ लाख रुपैँयाबाट हाल सम्मको खर्च ब्यवस्थापन गरिएको धुर्मुसले बताउनुभयो । करिव ८० लाख रुपैयाँ खर्च भईसकेको उहाँले जानकारी दिनुभयो । “यो रकमबाट कम्पाउण्डीङ, साईड अफिस, स्टोर आदी निर्माण भएका छन् शिलान्यास अघिका पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ” उहाँले भन्नुभयो, ग्राउण्डको काम यसै हप्तावाट शुरु हुन्छ । ”
करिव ३ अर्ब लागत अनुमान गरिएको रंगशाला ६ महिना भित्र शिलान्यास र दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी गत माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा निर्माण घोषणा गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट