धेरै अधिकार लिएपनि प्रधानमन्त्रीले राम्रो काम गर्न सकेनन् ः सभापति देउवा

काठमाडौँ ७ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले धेरै अधिकार आफूमा राखेपनि राम्रो काम गर्न नसकेको बताउनु भएको छ ।
महत्वपूर्ण अधिकारहरु आफ्नो मातहतमा ल्याएर पनि सरकारका प्रधानमन्त्रीले जनताको मन जित्नेगरी काम गर्न नसकेको उहाँको भनाइ थियो । कांग्रेस काठमाडौँ क्षेत्र नं ५ ले शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाले भन्नु भयो कुरा मात्र काम नगर्ने सरकारको रुपमा व्याख्या गर्न सकिन्छ ।
सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले शासन गर्न खोजेकाले यस विरुद्ध काग्रेस जाग्नुपर्ने बेला आएको छ, उहाँले भन्नुभयो । निर्मला पन्तको हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको भनाइ थियो ।
उहाँले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको बताउनुभएको हो । उहाले भन्नु भयो पार्टी भित्र अनुशासन हराउँदै गएको छ तर अब अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारवाही गरिनेमा जोड दिँदै उहाँले घरघर गएर पार्टीको संगठन विस्तार गर्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । पार्टीका महामन्त्री डा शशांक कोइरालाले काग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताउनुभयो ।
पार्टी भित्रको गुट उपगुट अन्त्य गरेर यसलाई एकताबद्ध नगरेसम्म काग्रेस पहिलो पार्टी बन्न सक्दैन, उहाँले भन्नुभयो । वर्तमान सरकार संघीयतामा विश्वास गर्दैन विश्वास गर्ने भए प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपथ्र्यो, महामन्त्री कोइरालाले भन्नुभयो ।
सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीको संगठन विस्तारमा लाग्नुपर्ने बेला आएको बताउनुभयो । कांग्रेस आफ्नै पार्टीका साथीका कारण निर्वाचनमा पराजय भएको उहाँको भनाइ थियो ।

शेयर गरौ

ताजा अपडेट