चितवन समाचार डटकम,
५ बैशाख ।
नेपाल पत्रकार महासंघ चितवनले बिद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको माग गर्र्दै आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
केन्द्रीय निर्देशन बमोजिम महासंघ चितवनको आह्वानमा बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म जिल्लाका ५० भन्दा धेरै पत्रकारहरुले प्रशासन कार्यालयको मुलगेटमा धर्ना दिएका हुन् ।
बिद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ ले प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेको र पत्रकार अर्जुन गिरीलाई समाचार लेखेकै कारण मुद्धा चलाईएको घटनाको बिरोधमा धर्ना दिइएको पत्रकार महासंघ चितवनका सचिव तीर्थ नेपालले बताउनुभयो ।
धर्नाको समापन गर्दै पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले प्रेस स्वतन्त्रताको पक्षमा महासंघ सदैव आन्दोलित रहने स्पष्ट पार्नुभयो । उहाँले स्वतन्त्रता बिरोधी कानुनहरु खारेजी गर्नुको बिकल्प नरहेको अध्यक्ष खतिवडाले बताउनुभयो ।
धर्ना कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, केन्द्रीय सदस्य सृजना अर्याल, प्रेस संगठनका केन्द्रीय सदस्यहरु सुरेशचन्द्र अधिकारी, शालिग्राम नेपाल, शिशिर सिंखडा, प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली, महासंघ चितवनका पूर्व अध्यक्षहरु हरिप्रसाद पोखरेल, जनक अर्याल, महासंघ प्रदेश कमिटी सदस्य कोमलचन्द्र भगत, महासंघ जिल्ला उपाध्यक्षहरु नारायण अधिकारी, शान्ता अधिकारीलगायत जिल्लाका क्रियाशील पत्रकारहरु सहभागी भएका थिए ।
आज पत्रकार महासंघका देशभरका जिल्ला शाखाहरुले स्थानीय प्रशासनमा धर्ना र प्रदर्शन गरेका छन् ।


