काठमाण्डौ ३ बैशाख । हरेक बैशाख २ देखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान चलाउने सरकारले निर्णय गरेको छ ।
हिजो वसेको मन्त्रिपरिषदको वैठकले यस्तो निर्णय गरेको हो । निर्णयका विषयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सार्वजनिक गर्नु भएको छ ।
मन्त्रिपरिषदका निर्णय हरेक बिहीबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै आए पनि अर्यालले दुइटा निर्णय सोमबारनै सार्वजानिक गर्नु भएको हो ।
सबै तहका सरकारको पहलमा शिक्षा मन्त्रालयद्वारा विद्यार्थी भर्ना अभियान चलाउने र सगरमाथा डायलग अन्तरराष्ट्रिय महत्वको समसामयिक विषयमा छलफल चलाउन स्थायी मञ्च बनाउने निर्णय भएको अर्यालले जानकारी दिनु भयो ।
सरकारले २०६१ सालदेखि यता हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरू हुनुपूर्व विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ । गत वर्ष प्रधानमन्त्रीदेखि नेतासम्मले विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना गरेका थिए ।
अझै ९० हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर छन् । विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गरी शिक्षा दिने सरकारको तयारी छ । विद्यालय भर्ना भएका अधिकांश बालबालिका अन्तिम परीक्षा दिने बेलासम्म टिक्दैनन, बीचैमा कक्षा छाड्छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्यातऔं’ भन्ने नारासहित विद्यार्थी भर्ना अभियानलाई सघाउन सबैमा अपिल गर्नु भएको छ ।
हरेक नागरिकले माध्यामिक शिक्षासम्म निस्शुल्क पढ्न पाउने हक संविधानमै उल्लेख छ। विद्यालय टाढा हुँदा, कापी, कलम तथा पोशाक खरिद गर्न नसक्नेजस्ता कारणले पनि विद्यार्थी विद्यालय शिक्षाबाटै बञ्चित हुनुपरेको छ ।
विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर सुनिश्चित र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यार्थी भर्ना अभियान महत्वपूर्ण ढोका रहेको भन्दै सरकारले अभियान नै सञ्चालन गरेको हो ।
‘विद्यालयमा प्रवेश गरेका सबै बालबालिकालाई गुणस्तरीय सिकाइ अवसर प्रदान गर्ने र अपेक्षित सिकाइ क्षमता विकास गर्ने दायित्व आम शिक्षकसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला र सरकारी र गैरसरकारी क्षेत्र सबैमा रहेको छ,’ मन्त्री पोखरेलले भन्नु भयो ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगबाट संघीय शिक्षा नीति मार्गदर्शन प्रतिवेदनसमेत तयार भएको मन्त्रालयले जनाएको छ । ‘विद्यार्थी भर्ना अभियानसँगै सरकारी विद्यालय सुधार र रुपान्तरणको अभियानमा जुट्छौं,’ मन्त्री पोखरेलले भन्नु भयो ‘१० बुँदे मार्ग्चित्र, २२ बुँदे कार्ययोजना, हरित, नमूना, प्राविधिक विद्यालय, अभिभावक सचेतना कार्यक्रमसँगै साक्षर नेपाल घोषण तयारी भइरहेको छ ।’


