चितवन समाचार डटकम,
२ बैशाख । उत्पादन मुलक उद्योगलाई प्रवद्र्धन गर्ने तरिकाको बजेट नेपाल सरकारले ल्याउनु पर्नेमा उद्योगीहरुले माग गरेका छन् ।
पूर्व बजेटका विषय चितवनको भरतपुरमा आयोजित छलफल कार्यक्रमा तीन वटा प्रदेशका उद्योगीहरुले यस्तो बताएका हुन् । नेपालमा विभिन्न उद्योगहरु सञ्चालनमा छन् तर त्यस्ता उद्योगको समस्या समाधान तर्फ भन्दा पनि करलाई मात्र ध्यान सरकारले दिएकाले उत्पादन गर्ने उद्योगको समस्या समाधान गर्नु पर्ने बताएका हुन् ।
रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले आयात नभइ निर्यातलाई सरकारले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । निर्यात गर्ने उद्योगको समस्या के छ त्यसलाई समाधान गर्नु पर्दछ उहाले भन्नु भयो । राज्यले औद्योगिक क्षेत्रमा स्थापना भएका उद्योगसंग भाडा लिएर मात्र होइन नाफामा कसरी लैजान सकिन्छ भन्ने योजना ल्याउनु पर्नेमा जोड दिनु भयो ।
नवलपुर उद्योग संघका अध्यक्ष वलभद्र शर्माले औद्योगिक क्षेत्रमा सरकारको लगानी कम भएकोमा चिन्ता व्यक्त गर्नु भयो । उद्योगको क्षेत्रमा लगानी गरेर विदेशबाट ल्याउने कच्चा सामग्रीमा भन्सार कम गर्न माग गर्नु भयो ।
नेपाल माछा उत्पादक महासंघका महासचिव जोगेन्द्र महत्तोले अझैपनि सस्तो मुल्य अस्वस्थकर माछा भारतबाट आउदा नेपाली उत्पादनलाई समस्या परेको बताउनु भयो । माछा पाल्ने किसानलाई विद्युत महसुल क मगर्न माग गर्नु भयो । अन्य उद्योग भन्दा जोखिम धेरै हुने भएकाले किसानले गर्ने व्यवसाय भएकाले यो उद्योगलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ त्यसमा सरकारले ध्यान जानु पर्नेमा जोड दिनु भयो । ६ हजार एकसय ५० मेट्रिक्टन माछा नेपालमा खपत हुने गरेको जानकारी दिनु भयो ।
नेपाल इटा उद्योग महासंघका उपाध्यक्ष नारायणप्रसाद सापकोटाले माटोको कर फरक फरक हुने भएकाले भ्याट लगाउन नहुनेमा जोड दिनु भयो । इटा उद्योग भएकाले यसको प्रवद्र्धनका कार्यक्रम राज्यले ल्याउनु पर्नेमा उहाको भनाइ थियो ।
कार्यक्रममा उद्योगी रामप्रसाद गजुरेल, कृष्ण गौतम, उपेन्द्र अग्रवाल, त्रिलोचन कडेललगायले आफ्ना सस्थागत समस्याको विषयमा कुरा राख्नु भएको थियो । प्रदेश नं. ३, गण्डकरी प्रदेश र प्रदेश नं. ५ काल उद्योगी व्यवसायीको समस्याको बारेमा छलफल गरिएको थियो ।
नेपाल सरकार, नेपाल उद्योग संघ र चितवन उद्योग संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारका अर्थ मन्त्री युवराज खतिवडा, अर्थ सचिव, विभिन्न उद्योगीहरुको सहभागीता रहेको थियो ।


