भरतपुरको यातायात कार्यालय स्तरबृद्धि गर्नु पर्ने माग, कर तिर्न दिनभरी लाइन बस्न बाध्य

चितवन समाचार डटकम,
२९ चैत । भरतपुरको यातायात व्यवस्था सेवा कार्यालयमा सेवाग्रहीको वढ्दो चापले गर्दा यसलाई स्थर बृद्धि गर्नु पर्ने माग उठेको छ ।
सावारी सम्वन्धी सेवा लिने सेवाग्राहीको सख्या चितवन र आसपास क्षेत्रमा धेरै भएकाले सेवा कार्यालयबाट स्तर बृद्धि गरी व्यवस्था कार्यालयको रुपमा स्थापना गर्नु पर्ने माग उठेको हो । सवारी साधनको कर मात्र यस कार्यालयले लिदै आएको छ । दैनिक जसो भिड हुने यस कार्यालयबाट लाइसेन्स, वितरण, नविकरण, विलबुक लगायतको काम गर्ने गरी स्तर बृद्धि गर्नु पर्ने कार्यालयका निमित्त प्रमुख ज्ञानबहादुर बोगटीले माग गर्नु भयो ।
उहाँका अनुसार चितवन, मकवानपुर, नलवपरासी, धादिङलगायत जिल्ला र प्रदेश नं. ३ का धेरै सवारी साधनको कर तिर्नको लागि यस कार्यालयमा आउने गर्दछन् । ती सेवाग्राहीका लागि लाइसेन्स वितरण, नविकरण, सवारी साधनको दर्ता, विलकुब वितरणलगायत सबै काम गर्न मिल्ने गरी कार्यालय नै स्थापना गर्नु पर्ने उहाले बताउनु भयो । सेवाग्राहीको चप वढ्दो छ उहाले भन्नु भयो ‘कर तिर्नकै लागि विहान ७ बजेदेखि लाइनमा बस्न आउनु हुन्छ ।’ सेवाग्राहीको काम गर्नको लागि तीनदिनदेखि साँझ ८ बजेसम्म कार्यालय खोलेर सेवा दिएको उहाले बताउनु भयो ।
सवारी साधनको कर तिर्नको लागि चैत मसान्तसम्म समय तोकेको कारण पनि सेवाग्राहीको चाप वढेको छ । तीनदिनदेखि सेवाग्राहीको चाप वृद्धि हुदा यहाँका कर्मचारीलाई काम गर्नका लागि दवाव वढेको कार्यालयका प्रमुख बोगटीले बताउनु भयो । मोटरसाइकलको कर तिर्न नवलपरासीदेखि आउनु भएका रविन लामाले भन्नु भयो ‘ कर्मचारी धेरै परिचालन गरेर छिटो सेवा दिनु पर्दछ, हामी एउटै कामको लागि चार घण्टा लाइनमा वस्नु पर्ने ? ’ कर तिर्नको लागि दिनभरी लाइनमा वस्दा आफूले काम गर्ने कार्यालयमा विदा लिनु पर्ने बाध्यता भएको सेवाग्राही केशव सापकोटाले बताउनु भयो ।
कर तिर्नको लागि मात्र भनेर कार्यालय ल्याउन पहल गरियो अहिले सेवाग्राहीको चापले गर्दा कार्यालयनै चाहिएको छ राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले भन्नु भयो । यहाँको कार्यालयमा जनशक्ति काम छ, सेवाग्राहीले यहीबाट लाइसेन्स लिन पाउनु पर्ने, नविकरण गर्न पाउनु पर्ने आवश्यकता छ तर सेवा दिन नसक्दा समस्या भएको छ । व्यवसायीको तर्फबाट पनि सम्वन्धीत निकायमा पहल भएको उपाध्यक्ष सुवेदीले बताउनु भयो । कार्यालयमा दैनिक सयौ जनाले सेवा लिने गरेका छन् । काठमाण्डौपछि सेवाग्राहीको चाप धेरै हुने कार्यालयका रुपमा चितवन रहेकाले यहाँ सबै सेवा दिनेगरी स्तर बृद्धि गर्न आवश्यक रहेको छ । यस कार्यालयमा ८ जना कर्मचारी दरवन्दी रहेको छ भने तीन जना प्राविधिक करारमा रहेका छन् । थोरै जनशक्तिले कार्यालय व्यवस्थापन गर्न समस्या भएको कार्यालय प्रमुख बोगटीले बताउनु भयो ।
यस कार्यालयबाट अघिल्लो आर्थिक वर्षमा ४६ करोड ७८ लाख राजश्व संकलन भएको थियो । कार्यालयले दिएको जानकारी अनुसार सवारी कर मात्रै ३८ करोड उठेको हो । सवारी कर बाहेक, आयकर, विविध, प्रमिट लगायतको गरी गएको वर्ष ४६ करोड ७८ लाख ६२ हजार सातसय ३१ रुपैया उठेको कार्यालयले जनाएको छ । यस कार्यालय यस वर्षबाट प्रदेश सरकार अन्र्तगत सञ्चालन भएको कारण चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३१ करोड २६ लाख १८ हजार तीनसय ६३ रुपैयाँ राजश्व उठेको छ । चैत्र महिनामा मात्रै ६ करोड भन्दा माथि राजश्व संकलन हुने अनुमान गरिएका कार्यालयले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट